मंगलबार, वैशाख ११, २०८१

पहिलो र दोस्रोपुस्ता बिच सद्भाव राख्न डेनमार्कमा नेपाली पर्व

नेपालप्लस संवाददाता / डेनमार्क२०७९ चैत २६ गते ११:३७

नेपाली समुदायमा आपसी सद्भाव र भाइचाराको सम्बन्ध अझ प्रगाढ र सुदृढ पार्दै पहिलो पुस्ता (अभिभावक) र दोस्रो पुस्ता (सन्तानहरू) बिचको सामाजिक तथा सांस्कृतिक दुरी कम गराउने प्रमुख उद्देश्यले ‘नेपालीज फेमिली फेस्टिबल’ आयोजना गरिएको छ ।

यो पर्व बर्खे बिदा र हिउँदे बिदाको समय पारेर वर्षको २ पटक आयोजना हुँदै आएको छ । “नेपालिज् फेमिली फेस्टिभल” को २०२३ को हिउँदे संस्करण पनि यही अप्रिल ८ शनिवार कोपनहेगनको ईनर्जी सेन्टर भोल्डपार्केनमा आयोजना गरिएको हो ।

कोरोना कहरको कारण केही संस्करण आयोजनामा बाधा भए पनि नेपाली फेमिली फेस्टिभल विगत ५ वर्ष देखि निरन्तर आयोजना हुँदै आएको छ । आउटडोर आयोजना हुने बर्खे संस्करणमा सहभागीहरूको सङ्ख्या निश्चित नतोकिए पनि ईन्डोर संन्चालन हुने हिउँदे संस्करणमा भने सहभागी बाबु नानीहरूको निश्चित सङ्ख्यालाई मात्र सहभागी गराइने गरिन्छ ।

हल क्षमताको कारण ७० बच्चालाई मात्र सहभागी गराउने भनेर दर्ता खुलाएको यो पटकको फेस्टिभलमा २ दिनमै तोकिएको सङ्ख्या पुगेकोले दर्ता बन्द गरी हाल्नु परेको कुरा आयोजकहरूले बताएका छन् ।

“चाहेर पनि सबै इच्छुक बाबु नानीहरूलाई दर्ता गर्न नसकिएकोमा हामी पनि खिन्न छौं” तर कसैलाई पनि गेटमा दर्ता नगरेको यो संस्करण आयोजनाका संयोजक हरि पराजुलीले बताए ।

सन २०१७ तिर डेनमार्कमा रहेका केही सृजनशील नेपाली अभियन्ताहरूको परिकल्पनाबाट सुरु भएर निरन्तर आयोजना हुँदै आएको फेस्टिभल अहिले कोपनहेगनवासी नेपालीहरूको अभिन्न अङ्ग बनीसकेको छ ।

फेस्टिभल व्यवस्थापन पनि अनौठो छ । सहभागीहरूबाट एकदमै थोरै दर्ता शुल्क लिएर पनि सहभागी सबै बच्चाहरूलाई फुड प्याकेज, मेडल तथा उपहार दिने गरिन्छ । फेस्टिभल सबै स्वयंसेवकहरूबाट सञ्चालन हुन्छ ।

अर्को उदाहरणीय पक्ष भने कुनैपनि संस्करणमा फेस्टिभल व्यवस्थापन संयोजक दोहोरिँदैनन् । यसले पनि धेरै जनालाई कार्यक्रम आयोजना र व्यवस्थापनमा व्यवहारिक र प्रयोगात्मक ज्ञान दिन्छ । यो किसिमको प्रयासले धेरै जनालाई व्यक्तिगत र क्षमता विकासमा पनि सहयोग पुगेको अभियन्ता प्रभात किरणले बताए ।

“सहभागीहरूको घुईचों लाग्छ, भोलेन्टियर गर्छु भन्नेहरूको घुँईचो लाग्छ । अनि यस्तो सामरिक महत्त्वको कार्यक्रम आयोजना गर्न त्यसै ऊर्जा मिलीहाल्छ नि” कार्यक्रम हलको प्रवेश द्वारकै नजिक एउटा कुनामा साना बाबु नानीहरूलाई फेस पेन्टिङ गरी रहेका डा खेम अधिकारीले भावी कार्यक्रमहरू अझ व्यवस्थित हुने कुराको सुनिश्चितता गर्दै हौसिए ।

खेलकुदलाई प्रमुख थिम बनाएको फेस्टिभलमा बालबच्चा सहित अभिभावकहरू पनि उपस्थित हुनाले एक आपसमा चिनजान गर्ने राम्रो अवसर पनि दिएको सबै फेस्टिभलमा नियमित सहभागी भई रहेका शशी श्रेष्ठले बताए । 

फेस्टिभल सफल व्यवस्थापन गर्न यति महत्पूर्ण योगदान गर्ने सबै स्वयंसेवकहरूलाई धन्यवाद दिँदै आगामी फेस्टिभलमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए ।

कोपनहेगनमा नेपालीहरूको बढ्दो जनघनत्व सँगै आजभोलि प्राय सबै कार्यक्रमहरूले उल्लेख्य सहभागिता पाउने गरेको छ । यसो भनीरहँदा आयोजकहरूले पनि कार्यक्रम गरी रहँदा कुनै न कुनै तवरले नेपाली कला संस्कृति, भाषा संरक्षण, संवर्द्धन तथा प्रवर्धनको लागि लक्षित हुनु पर्नेमा भने धेरैको एक मत देखिन्छ ।

तपाइँको प्रतिक्रिया