बुधबार, वैशाख १२, २०८१

एनआरएनए उपाध्यक्ष डा. शर्मासित एनआरएनए फ्रान्सको अन्तरक्रिया

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ चैत २६ गते २३:४८

गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय उपाध्यक्ष डा. हेमराज शर्मा सित एनआरएनए फ्रान्सले आइतवार पेरिसमा अन्तरक्रिया गरेको छ ।

संघको बिधिविधान, नेपाली नागरिकताको निरन्तरता, संघको संरचना, आगामी केन्द्रिय र राष्ट्रिय अधिवेशन, संघको अभियान र एनआरएनएले गर्दै आएको लगानी लगायतका विविध विषयमा गम्भिर बहस भएको हो ।

गैर आवासीय नेपालीहरुले लामो समयदेखि उठाउँदै आएका नेपाली नागरिकताको निरन्तरता, संघको केन्द्रिय संरचना, आम गैर आवासीय नेपालीको संघमा भूमिका, सदस्यता बितरण, नेपालमा आफ्नो पैत्रिक र आफूले कमाएको सम्पत्तीको सुरक्षा तथा संघको निर्वाचन प्रणालीबारे फ्रान्सका नेपाली अभियन्ताहरुले उपाध्यक्ष डा. शर्मासित गहिरो चासो राखेका थिए ।

डा. शर्माले नेपाली नागरिकताको निरन्तरताका विषयमा आम गैर आवासीय नेपालीका मुद्दा संवोधन भैनसकेपनि आंशिक रुपमा सम्वोधन भएकाले त्यसलाई उपयोग गर्दै थप उपलब्धी हाँसिल गर्नकालागि निरन्तर लाग्नुपर्ने र त्यसकालागि सबै गैर आवासीय नेपालीले आवाज उठाउनुपर्ने बताए ।

गैर आवासीय नेपाली संघको वर्तमान निर्वाचन प्रणालीमा आम गैर आवासीय नेपालीले आफ्नो नेत्रित्व चुन्न पाउने खालको पद्दती नरहेकाले त्यसमा संघले परिमार्जन र सुद्रिढीकरण गर्नुपर्ने माग गरेका थिए ।

डा. शर्माले उक्त विषयमा नेपाल सरकारसमक्ष गैर आवाशीय नेपालीले आफ्नो मतको कदर हुनुपर्ने, मतदानको अधिकार सुनिस्चित हुनुपर्ने माग गरिरहेका बेला गैर आवासीय नेपाली संघका केहि अभियन्ताले अनलाईन माध्यमबाट मतदानको बिरोध गरेको र त्यसो हुन नहुने बताए ।

उनले भने “हामीलेनै बिदेशमा भए नेपालीले नेपालको निर्वाचनमा मतदान गर्नुपर्ने माग गरिरहेका छौं । हाम्रो संघकै निर्वाचन अनलाईन माध्यमबाट गर्नुपर्ने भनेर योजना बनाउँदा त्यसको बिरोध गर्नु हाम्रै मागको बिपरित भएन र ? ”

संघको केन्द्रिय महाधिवेशनमा हाल भैरहेको चलखेल, काठमाडौं शशरिर उपशित भएर गरिने निर्वाचन प्रणालेले गर्दा संघलाई शुद्दिकरण गर्नपनि अनलाईन मतदान गर्नुपर्नेमा जोड दिए । उनले आम गैर आवासीय नेपालीहरु काठमाडौं मतदानकै लागि मात्रै जानसक्ने स्थिति नरहेकाले संघको नेत्रित्वप्रति सबैले अपनत्व महसुस गर्नपनि आफू बसेकै देशबाट अनलाईन मार्फत् मतदान गर्नुपर्नेमा जोड दिए ।

गैर आवासीय नेपाली संघको नाममा लगानी र कोष बनाएर ब्यापारी, उध्योगपतीहरुले नाफा लिएको तर संघको नाम, प्रतिष्ठा, लोगो र पहुँच प्रयोग गरेबापत संघलाई प्रत्यक्ष फाईदा नपुगेकोमा अभियन्ताहरुले गुनासो गरेका थिए ।

डा. शर्माले उक्त गुनासो जायज रहेको भन्दै पछिल्लो चरणमा गठन भएको १० अर्बको एनआरएनए लगानी कोषबाट केहि प्रतिशत कोषलाई दिने संवन्धमा सकारात्मक पहल भएको जानकारि दिए ।

एनआरएनएका ठूला ब्यापारी र धनाढ्यहरुले संघका नाममा धनाढ्यहरु मात्रै मिलेर लगानी गर्ने र नाफा लिने होइन कि आर्थिक रुपमा कम लगानी गर्न सक्ने तल्लो तहका गैर आवासीय नेपालीहरुलाईपनि लगानीमा साझेदारी र पहुँचको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

“उहाँहरुले मात्रै लगानी गरेर भएन । सानो सानो रकम हुनेलाईपनि ब्यापारिक, आर्थिक लगानीमा सरिक बनाउनुपर्‍यो । थैली सानो हुनेलाईपनि ब्यापारिक लगानीको वातावरण बनाइदिन पर्‍यो” उनले भने ।

गैर आवासीय नेपाली संघ फ्रान्सले यहाँका सबै नेपालीलाई समेट्न केहि महिना अघि संशोधन गरेको विधानमा गुनासो रहेकोमा उनले फ्रान्सबासी नेपालीहरु मिली साझा छलफल, सहमति र निर्णय गरेर अगाडि बढ्न सल्लाह दिए ।

“यति थोरै नेपाली हुनुहुन्छ । बसेर सल्लाह गर्नुस् । साझा सहमति बनाउनुस् । सामुहिक निर्णयमा पुग्नुस् । आखिर सबैको उद्देश्य सबै नेपाली समेटिउन् भन्ने त होला नी । तपाईहरु स्थानिय तहमा मिल्नुभयो भने केन्द्रिय तहमापनि मिलिहाल्छ नी” शर्माले सुझाव दिए ।

संघका केन्द्रिय अभियन्ता, संघको नितिका कमजोर पक्ष र केन्द्रिय तहका अभियन्ताहरुकै कमजोरीका कारण राष्ट्रिय समन्वय समितिहरुमा विवाद, झमेला र समस्याहरु देखिएकोपनि केन्द्रिय उपाध्यक्ष डा. हेमराज शर्माले हाकाहाकी बताए ।

आफू कुनै ब्यापारी, उध्योगपती र धनाढ्य नभएको, आफूले आर्थिक फाईदा र लगानीका लागि संघलाई उपयोग नगरेको बताउँदै डा. शर्माले तल्लो तहका आम गैर आवासीय नेपालीको हक अधिकार सुरक्षित गर्न र तिनको अवाज उठाउनैकालागि यो अभियानमा आफू निरन्तर लागेको बताए ।

संघमा रहेर लामो समयदेखि विधिविधान, आम गैर आवासीय सामान्य तहका नेपाली र संघलाई सबैको साझा र सङ्लो बनाएर लैजान डा. शर्माले लामो समयदेखि निर्णायक भूमिका खेलेको भन्दै आगामी निर्वाचनमा शर्मालाई अध्यक्षका रुपमा हेर्न चाहेको भनाई धेरैको थियो । उनीहरुले डा. शर्मालाई आगामी निर्वाचनमा अध्यक्षका रुपमा उत्रिन शुभकामना समेत दिएका थिए ।

तर शर्माले अहिलेनै निर्वाचनका बारेमा, उमेदवारीका बारेमा निर्क्यौल गरिनसकेको, त्यसको समयपनि आइनसकेको र उपयुक्त समयमा त्यसको निर्णय गर्ने जवाफ दिए ।

अन्तर्क्रियामा गैर आवासीय नेपाली संघका पदाधिकारी, पूर्व पदाधिकारी र बिभिन्न संघसंस्थाका नेपालीहरुको सहभागिता थियो ।

संघको यस कार्यक्रमलाई पेरिसका ब्यापारी शिवराम भण्डारीले स्थान उपलब्ध गराएर सहयोग गरेका थिए । कार्यक्रममा सचिव कमल बिक्रम केसीले सहजकर्ताको भूमिका खेलेका थिए ।

तपाइँको प्रतिक्रिया