शुक्रबार, वैशाख १४, २०८१

ईटालीमा एक लाख युरो जतिवानासहित अंग्रेजी शब्दमा प्रतिबन्ध लगाउने प्रस्ताव

नेपालप्लस संवाददाता / फ्रान्स२०८० वैशाख १० गते १६:२६

आफ्नो भाषामाथि पराई भाषाको अतिक्रमण र नक्कललाई रोक्न ईटालीको सरकारले अंग्रेजी शब्द माथि एक लाख युरो जरिवानासहित प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ ।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले २४ मार्च, २०२३ मा ईयूको मुख्यालय ब्रसेल्समा ईयु शिखर सम्मेलन पछि मिडियासँग कुरा गर्दै ‘नो, हेल्लो’ जस्ता शब्द आफ्नो मौलिक नभएकाले तिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएकि थिईन् ।

त्यसपछि इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको नेतृत्वमा दक्षिणपन्थी पार्टीले प्रस्तावित नयाँ कानूनलाई अगाडि बढाएको छ जसले आधिकारिक सञ्चारमा अंग्रेजी र अन्य विदेशी शब्दहरूको प्रयोग गरे पाँच हजार युरोदेखि एक लाख युरो जरिवानासहितको सजाय दिने प्रस्ताव गरेको छ।

इटालियन भाषाविज्ञान र फिलोलोजी, प्रतिष्ठित ‘एकेडेमिया डेला क्रुस्का’ जुन इटालियन भाषाविज्ञान र फिलोलोजीका सबैभन्दा प्रसिद्ध विद्वानहरू सम्मिलित छन् तिनले यो कानुनको व्यापक निन्दा गरेका छन् ।

उता कानूनको लक्ष्य “इटालियन भाषाको रक्षा र प्रवर्द्धन” र राष्ट्रिय पहिचानको रक्षा गर्नु रहेको मेलोनीको पार्टीको भनाई छ ।

मेलोनी द्वारा समर्थित नयाँ प्रस्ताव, इटालीको तल्लो सदनका डेपुटीहरूका सदस्य फाबियो रामेलीले प्रस्तुत गरेका थिए। आफ्नो ट्विटर प्रोफाइलमा पिन गरिएको ट्वीटमा, सांसदले तथाकथित “एंग्लोमेनिया” को उदाहरण दिएका छन् जसले कानून पारित भएमा इटालियन राजनीतिज्ञ र नोकरशाहहरूलाई जरिवाना गराउनेछ।

“प्रतिनिधिहरूको तल्लो सभामा हामी इटालियन बोल्छौं,” रामेलीले लेखेका छन् “अङ्ग्रेजीको सट्टा हाम्रो भाषाको प्रयोगको लागि हामी हाम्रो लडाई जारी राख्छौं। हामीले ‘डिस्पेन्सर’ लाई ‘अटोमेटिक ह्यान्ड सेनिटाइजर डिस्पेन्सर’ किन भनिन्छ भनेर बुझ्न सक्दैनौं।”

अङ्ग्रेजीमा “डिस्पेन्सर” शब्द प्रयोग गर्नुको सट्टा, मेलोनीको सरकारले अधिकारीहरूलाई अझ धेरै शब्दयुक्त इटालियन अभिव्यक्ति प्रयोग गर्न लगाउने प्रस्ताव गरेको छ: “डिस्पेन्सेटर डि लिक्विडो इजिनिजान्टे पेर ले मानी।”

इटालियन भाषामा युरोपका अन्य भाषाहरू जस्तै हालका वर्षहरूमा धेरै अङ्ग्रेजी शब्दहरू भित्रिएका छन् । किनभने यी शब्दहरूले ‘नयाँ’ चीजहरूलाई संकेत गर्थे जुन इटालियन परम्परा (कम्प्युटर, सामाजिक सञ्जाल, स्मार्ट वर्क) सँग सम्बन्धित थिएन। किनभने अंग्रेजी भाषाले प्रायः सरल, थप संक्षिप्त, सहज र उच्चारण गर्न छरितो संस्करण प्रदान गर्दछ भन्ने गरिन्छ जुन कुरा इटालियनमा व्यक्त गर्नको लागि एकदम घुमाउरो र लामा शब्दहरुको बाटो लिन्छ।

कतिपय काममा अंग्रेजी भाषा सहज किसिमले प्रयोग गरिँदै आएको छ, सरकारी तहमापनि । कामको बारेमा ब्याख्या गर्दा ब्रिफिङ, डेडलाईन शब्द प्रयोग गर्नु सामान्य छ। यसले औपचारिकता र अन्तर्राष्ट्रियताको स्पर्श थप्ने बिचार ईटालियनहरुको छ ।

पछिल्लो तथ्याङ्क अनुसार, ट्रेकानी राम्रो सम्मानित इटालियन-भाषाको विश्वकोशमा हाल ९,००० अंग्रेजी शब्दहरू सहित आठ लाख इटालियन शब्दहरू छन् । सन् २००० देखि, इटालियन भाषामा घुसाउने अंग्रेजी शब्दहरूको संख्या ७७३ प्रतिशतले बढेको छ ।

इटालियन भाषामा अङ्ग्रेजी शब्दहरू ग्रहण गर्नु इटालीमा अनन्त बहसको विषय हो, जहाँ राष्ट्रिय भाषाको अखण्डताको रक्षा गर्ने र जीवित भाषाहरू तरल र निरन्तर विकसित भइरहेका छन् भनी स्वीकार गर्नेहरुको बीचमा विचारहरू विभाजित छन्।

मेलोनीको नयाँ प्रस्तावित कानूनले यस बहसमा कडा अडान लिएको छ । रूढिवादी दृष्टिकोणको लागि मलजल गरेको छ जसले सार्वजनिक प्रशासन, विद्यालय र विश्वविद्यालयहरूमा अंग्रेजी शब्दहरू प्रतिबन्ध लगाउन चाहन्छ ।

नयाँ कानून अन्तर्गत विशेष गरी विदेशी भाषा सिकाउने उद्देश्य नभएको कुनै पनि विश्वविद्यालयको कक्षामा इटालियन भाषामा हुनुपर्छ। विदेशी भाषाहरूमा पाठ्यक्रमहरू विदेशी विद्यार्थीहरूलाई लक्षित गर्दा मात्र उचित हुने भनिएको छ।

सार्वजनिक प्रशासनमा पद धारण गर्ने जो कोहीसँग “लिखित र मौखिक ज्ञानसहित इटालियन भाषाको दख्खल हुनुपर्दछ।

प्रस्तावित विधेयकमाथि संसदमा छलफल हुन बाँकी छ ।

तपाइँको प्रतिक्रिया