शुक्रबार, चैत १६, २०८०

सूचना लुकाउने फ्रान्सेली मिडिया

ददि सापकोटा / फ्रान्स२०८० वैशाख २० गते ९:३०

“हेल्लो, म साइद काउची हो । हामी सरकारसित झुक्दैनौं । माफी पनि माग्दैनौं । हामी यहाँ छौं भनेर छिटो पुलिसलाई खबर गरिदिनुस् न । हामी अल्लाहका नाममा मर्छौं तर शरण पर्दैनौं ।’’ दर्जन पत्रकार मारेको आतङ्ककारीले कुनै पत्रिकामा फोन गरेर यसो भने हामी के गथ्र्यौं होला ? अवश्यै पनि ब्रेकिङ न्युज भन्दै खुब प्रचार हुन थाल्थ्यो । मख्ख पथ्र्यौं हामी । यही समाचार अन्य रेडियो र टिभीले फुक्न थालिहाल्थे । तर फ्रान्सेली मिडियाले यो सूचना लुकाए ।

मिडियाले सूचना लुकाउनु हुन्न । बरु ठूला घटना भएका बेला झन त्यसका हरेक पक्षबारे खोजीखोजी सूचना सार्वजनिक गर्नुपर्छ भनिन्छ । तर फ्रान्सेली मिडियाहरू भने राष्ट्रिय सुरक्षा सङ्कट परेका बेला सूचना लुकाउँछन् । पाएको सूचना सार्वजनिक नगरेरै राष्ट्रिय हितमा काम गर्छन् । ७ जनवरी २०१५ का दिन फ्रान्सको हाँस्यब्यङ्ग्यसम्बन्धी प्रसिद्ध पत्रिका सार्ली हेब्दोको कार्यालयमा आतङ्ककारी हमलाका बेला यही गरे ।

सन् २०१५ जनवरी ७ का दिन ब्यङ्ग्य पत्रिका सार्ली हेब्दोको कार्यालयमा हमला गरेर एक दर्जन पत्रकारको हत्या गरेका अफ्रिकी मूलका फ्रान्सेली दाजुभाइ साइद कुवाची र सेरिफ कुवाची एकपछि अर्को गर्दै सडकमा गुडिरहेका गाडी कब्जा गर्थे । गाडी फेरि फेरि चढेर भाग्ने गर्दै थिए । यस्तो बेला फ्रान्सेली मिडियाले सरकारलाई यति सहयोग गरे कि तिनले पेरिसको नाकाबाट निस्किने चौतर्फी आफ्ना मुभी क्यामरासहितका पत्रकार खटाइदिए । सुरक्षाकर्मी परिचालन त भएकै थिए । आतङ्ककारीहरूलाई घेराबन्दीमा परेको अनुभूति भयो र तिनले दँ माता अँ गोयल भन्ने पेरिसको काँठस्थित एक गाउँमा प्रिन्टिङ मेशिन राखेको घरमा शरण लिए प्रिन्टिङ गृहका सञ्चालकसहित ।

आतङ्ककारीहरूले सबै सूचना लिइरहेका रहेछन् बाहिर के भइरहेको छ भन्ने । उनीहरूले प्रिन्टिङ मेशिन राखेको घरका सञ्चालकलाई पनि कब्जामा लिएर भित्रै बसिरहे । त्यहीँबाट फ्रान्सेली केही प्रसिद्ध मिडियालाई खबर गरे ‘हामी यसरी बसिरहेका छौं । प्रहरीहरूलाई खबर गरिदेऊ । हामी मर्न चाहन्छौं । शरण पर्दैनौं ।’ तर फ्रान्सेली कुनै पनि मिडियाले त्यसलाई सार्वजनिक गरेनन् ।

फ्रान्स तीन टिभीका पत्रकार फ्रँक पेरेस भन्छन् ‘‘नागरिकहरू आतङ्कित नबनुन् भनेर मिडियाले नदिएका हुन् । अर्को कुरा आतङ्ककारी हो भन्ने अनुमान त दाबी न हो, अदालती पुष्टि भएको त थिएन । अपराधी भनेर न्यायिक निकायबाट पुष्टि नभएका व्यक्तिलाई मिडियाले सुरक्षाकर्मी लगाएर हत्याको कारक बन्नुहुन्न भन्ने हो ।”

तर आतङ्ककारीले कब्जामा लिएर सँगै राखेका प्रिन्टिङ गृहका सञ्चालकलाई कसरी जोगाउने ? यसमा फ्रान्सेली मिडियाले निकै जोड दिए । सरकारको एक पक्ष प्रिन्टिङ गृहका साहुको मिलेमतो नभई ती आतङ्ककारीले कसरी शरण पाए, तिनलाई बेलैमा जीवितरुपले कब्जामा लिनुपर्छ । ढिलो गर्नुहुन्न, बरु तेस्रो व्यक्तिको ज्यान गए जान्छ भन्ने पक्षमा देखिन्थे ।

सरकारी पक्षको त्रास के थियो भने पक्राउ गर्न वा सिध्याउन जति बिलम्ब भयो उति तिनको आतङ्ककारी सञ्जालले काम गर्छ र अन्यत्र हमला गरिरहन सक्छन् । तर फ्रान्सेली मिडियाले ती नागरिकलाई जबर्जस्ती बाध्य पारेको, तिनको कुनै संलग्नता नभएको हुनसक्ने भएकोले जसरी पनि जोगाउनुपर्ने भनेर लगातार दबाब दिइरहे । तिनले आतङ्ककारी काउचीन दाजुभाइसित इन्टरनेटमार्फत सम्पर्क गरिरहे । ती बसेको कोठा, अवस्था र कब्जामा खास कति जना छन् भन्ने बारेमा जानकारी लिए । तर यो सूचना सार्वजनिक गरेनन् । तिनले काउची दाजुभाइले कब्जामा लिएका तेस्रो व्यक्तिलाई अनाहकमा ज्यान गुमाउन नदिन आग्रह गरिरहे ।

अन्ततः काउची दाजुभाइले प्रिन्टिङ गृहका सञ्चालकलाई मुक्त गरिदिए । काउची दाजुभाइले शरण लिएको घरमा अपरेशन गर्नुअघि राष्ट्रपति स्वयं उपस्थित हुनुपर्ने बाध्यता बनाइदिएर एक जना नागरिकको सुरक्षामा कति महत्वपूर्ण र गम्भीर हुनुपर्छ, राज्य भन्ने देखाइदिए ।

बिएफएम टिभीका रेमी बार्बी सम्झिन्छन् “दुईजना आतङ्ककारी मार्ने नाममा अर्को व्यक्तिको ज्यान गए त्यसले अर्को विपत्ति निम्त्याउला भन्ने त्रासले गृहमन्त्रीले पनि निर्णय गर्न नसकेका हुन् । राष्ट्रपति नै उपस्थित हुनुपर्ने बाध्यता यहाँका मिडियाले बनाइदिए । तर सबै घटना अन्त्य भइसकेपछि फ्रान्स एक र बिएफएम टिभीले तिनको अडियो वार्ता नै सुनाइदिए । यसले फ्रान्सेली मिडियाले पाएको सूचना राष्ट्रिय हितकालागि सोचेर लुकाएको प्रस्ट पारिदियो ।

राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूलाई एक ठाउँ आउन पनि फ्रान्सेली मिडियाहरूले नै बाध्य बनाएर अर्को सकारात्मक भूमिका खेले । सरकारले राष्ट्रिय सङ्कट घोषणा गरेको थियो । तर नेपालका दलहरूझैं फ्रान्सका मुख्य दलहरू पनि तानातान र खिचातानीमै सक्रिय थिए । सरकार, सरकारको नेतृत्वकर्ता दलको आलोचना गर्दा झन् फ्रान्सेली नागरिक विभाजित होलान्, राष्ट्रिय सङ्कटका बेला समस्या भनेर मिडियाले सरकारलाई यो मामिलामा अन्य दलहरूको सहयोग र समर्थन लिन बाध्य बनाए । सरकारलाई विपक्षी दलहरूसित सहयोगको हात फैलाउन दबाबपूर्ण भूमिका खेले । विपक्षी दलहरूको पनि सरकारको आग्रहमा सहयोग गर्न सक्रिय हुने वातावरण बनाए ।

यसैको परिणाम थियो– मुख्य प्रतिपक्षी दलका प्रभावशाली नेता, पूर्व राष्ट्रपति निकोलस सार्कोजीको राष्ट्रिय सङ्कटमा सबै फ्रान्सेलीलाई एक भएर सरकारलाई सहयोग गर्न गरिएको सार्वजनिक आह्वान । मिडियाहरूले अति दक्षिणपन्थी दल नेशनल फ्रन्टको असहयोगकारी भूमिकालाई तीव्र आलोचना गरे । उनका आरोप र कटु आलोचनालाई उति स्थान दिएनन् । अधिकांश दलहरूलाई एकै थलोमा उभ्याइदिए ।

प्रायः फ्रान्सका नेता, राजनीतिक दल पनि अन्य मुद्दा र घटनामा सरकार र सरकार सञ्चालन गर्ने दललाई दोष लगाउँथे । गाली गर्थे । सरकार सञ्चालन गर्ने दललाई खुइल्याएर कमजोर बनाउन खोज्थे । तर यो घटनामा भने सबै मुख्य पार्टी र तिनका नेता एक ठाउँ उभिए । त्यो प्रयास फ्रान्सेली मिडियाको थियो । ‘यो हाम्रो समानता, मानव अधिकार, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, फ्रान्सेली संस्कृति, सभ्यता, प्रजातन्त्र र समग्रमा आफ्ना नागरिकमाथिकै हमला हो । यसलाई गम्भिरतापूर्वक लिएर कदम चाल्नुपर्छ ।’ फ्रान्सेली मिडियाले सबै नागरिक, नेता र दलहरूलाई यही सन्देश दिइरहे ।

फ्रान्सेली मिडियाले खेलेको अर्को महत्वपूर्ण पक्ष धार्मिक र जातीय दङ्गा भड्किनबाट जोगाउनु पनि हो । आक्रमणकारी तीनै जना अफ्रिकी मूलका थिए । ती मुस्लिम धर्मका कट्टर अतिवादी थिए । तिनले अल्लाहका नाममा नागरिक बन्धक बनाउने, मार्ने गरेका थिए । पोख्त द भाँसाँमा आमेदी कुलीबालीले जुइफ धर्मावलम्बीको ग्रोसरी पसलमा पसेर केही सर्वसाधारणलाई बन्धक बनाएका थिए । ती आतङ्ककारीहरूले जुइफहरूमाथि आक्रमणको धम्की दिएका थिए । यसबाट मुसलमान र अन्य धर्म मान्नेबीच धार्मिक विश्वासका आधारमा आक्रमण गरेको प्रतिक्रिया दिइएको थियो ।

यो घटनालाई मुसलमान समुदायले आतङ्ककारी हमला र मुसलमान समुदायको कुनै संलग्नता र समर्थन नरहेको भन्दै विरोध जनाए । तर फ्रान्सेलीहरूको नागरिक तहबाट सद्भावना पाउन सकेको थिएन । धेरै फ्रान्सेलीले मुसलमान समुदायलाई फ्रान्सेली सरकारले पालेको, तिनलाई समर्थन दिएको, फ्रान्सले गुण लगाएको र फ्रान्सेलीसरह व्यवहार गरे पनि मुसलमानहरू फ्रान्सेलीविरुद्ध देखिएको भन्दै विरोध गरेका थिए । रङ्ग, धर्म र जातिभेदको आरोप लाग्ने फ्रान्सेली कानुनले गर्दा खुलेर प्रस्टरुपमा विरोध गर्न नसके पनि यो घटनाबाट मुसलमान समुदायप्रति उनीहरू अब सरकारले कडा नीति बनाउनुपर्ने मानसिकता बनाउँदै थिए । केहीले हाकाहाकी भनेका थिए, ‘फ्रान्स मुसलमानहरूको मनपरी गर्ने थलो होइन । हाम्रै थलोमा बसेर, फ्रान्सेलीले आदर गर्दागर्दै पनि हामीविरुद्ध हमला यसलाई अब हामी पचाउन सक्दैनौं । फ्रान्सले मुसलमान समुदायलाई पाल्ने काम नगरोस् ।’

तर फ्रान्सेली मिडियाले त्यसलाई स्थान दिएनन् । बरु इस्लामिक, जुइफ, क्रिश्चियन धर्मका गुरु, नेतृत्वकर्ता, संस्थाका प्रमुखहरूलाई मिडियामा ल्याएर प्रत्यक्ष रुपमा संवाद गराए । उनीहरूले ‘आतङ्कवाद, आतङ्ककारीको धर्मसित कुनै सम्बन्ध हुन्न’ भन्दै धार्मिक सहिष्णुताका पक्षमा निरन्तर जनमत बनाए । आतङ्ककारीहरू भएकोले तिनको हत्यामा मुस्लिम समुदायको आपत्ति नहुने मुस्लिम धार्मिक संस्थाका अगुवाहरूको भनाइलाई स्थान दिए ।

पेरिसको सार्ली एब्दो साप्ताहिक पत्रिकामा आक्रमण गरेर ८ जना पत्रकारसहित १२ जनाको ज्यान लिने आतङ्ककारीविरुद्ध जनवरी १२ का दिन मौन जुलुस आयोजना गरिएको थियो । पेरिसमा मानव सुनामी उर्लियो । हरेक समुदाय, धर्म, जात र वर्गका मानिसहरूलाई एकजुट भएर जुलुसमा उतार्ने काम मिडियाले गरे । फरक–फरक मिडियाका अनुसार १० देखि १५ लाख मानिस प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गणतान्त्रिक फ्रान्स, मानव अधिकार र समानताका लागि सडकमा उत्रिए ।

यो मौन जुलुसमा पनि केही फ्रान्सेलीले ‘फ्रान्स फ्रान्सको हो, धार्मिक आक्रमण गर्न पाइन्न, म क्रिश्चियन हुँ भनेर आक्रमण गर्ने ? फ्रान्स मन नपरे यहाँ बस्नु बाध्यकारी छैन ।’ आप्रवासी र अन्य धर्मलाई मनोवैज्ञानिकरुपमा हेप्ने यस्ता प्लेकार्ड बोकेका थिए । त्यसैले एक अर्को वर्ग, समुदाय र धर्मप्रति वैमनस्यता उब्जन्छ भनेर फ्रान्सेली मिडियाहरूले स्थान दिएनन् । बरु फरक फरक धर्म, समुदाय, अनुहारका मानिसहरूको सद्भावपूर्ण भनाइलाई स्थान दिए ।

त्यसो त आतङ्कलाई पटक्कै स्थान दिनुहुन्न भन्ने फ्रान्सेली मिडिया नीति गज्जबको छ । पेरिसको छेउमा रहेको पोख्त द भाँसँ मा रहेको ग्रोसरी पसलमा केही सर्वसाधारणलाई बन्धक बनाएका आमेदी कुलीकाली र काउची दाजुभाइ दुवैको हत्या कसरी गरियो, कसरी प्रहार गरियो । तिनको लास कस्तो देखिएको थियो, बन्धक बनेकाहरूले कस्तो त्रास भोगे भन्ने मिडियामा दिएनन् । आतङ्ककारीमाथि हमला भएको आवाज त सुनाए । तर अहिलेसम्म पनि त्यसको दृश्य देखाएका छैनन् । ‘हत्या, हिंसाको प्रचारले त्यसैलाई बढाउँछ, मान्छेका संवेदनशीलता र कोमलतामा क्षति पुग्छ भन्ने हाम्रो बुझाइ हो । त्यसैले हामी सकेसम्म दिन्नौं’ बाबी भन्छन् ।

फ्रान्सेली मिडियाहरूको सूचना पहुँच र दिएको सूचना भरपर्दो हुनुको कारण पनि गज्जबकै छ । हाम्रोमा झैं उनीहरू जतिबेला कुनै विषयको विशेषज्ञ आवश्यक पर्छ उतिखेर सम्पर्क गर्ने र खोज्ने गर्दैनन् । हवाई, सेना, प्रहरी, हिमाल आरोहण, वैदेशिक नीति भ्रष्टाचार, धर्म आदि हरेक विषयका विशेषज्ञहरूलाई स्थायी रुपमै नियुक्त गर्दा रहेछन् । कर्मचारीकै रुपमा नियुक्त नभए पनि तिनले आवश्यक पर्नासाथ चौबिसै घण्टा सम्पर्कमा रहने, वा ती आफू उपलब्ध नभए अर्को विकल्प खोजिदिने र मिडियाकै कार्यालयमा बसेर बहसमा सहभागी रहने, सूचना दिने गर्दा रहेछन् । फ्रान्सेली मिडियाहरूले रिटायर्ड भएका चिकित्सिक, विशेषज्ञ, सैन्यविद, पूर्व मन्त्रीहरूलाई आफ्नो मिडियामा अस्थायीरुपले अनुबन्ध गर्दा रहेछन् । यसो गर्दा बहालवाल कर्मचारी, मन्त्रीसम्म उनीहरूको विषयअनुसारको पहुँच हुँदो रहेछ । त्यसैले फ्रान्सेली मिडिया कुनै पनि घटनाको सूचना तत्कालै भरपर्दो किसिमले ल्याउँछन् ।
स्रोत : संहिता असार २०७२

तपाइँको प्रतिक्रिया