बिहीबार, चैत १५, २०८०

सेक्स अन द विच : अ ककटेल – भाग -६

निल थापा / कोपेनहेगन, डेनमार्क२०८० जेठ १ गते १५:०४

(‘सेक्स अन द विच : अ ककटेल !’ पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस र दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस, तेसो भाग हेर्न यहाँ क्लिक गर्नुहोला ,चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला र पाँचौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला )

लेखक नील थापा

रुषाले छोराको फोटो हेर्दाको क्षण बयान गर्दै जाँदा आँखाभरी आँसु बनाई । तरपनि उसले आफ्ना कथा सुनाउन छाडिन ।

कथा अगाडि बढाउँदै गई । ‘बुढालाई होस्टल बस्छु’ भनेपनि म कोठामा आएँ । छोराको फोटो हेरेपछि मन थामिएन। एक पटक मन खोलेर रोएँ । आफै भित्र हलुका महसुस गरें ।

बुढालाई ‘कलेज जान्छु’ भनेर ढाँटेपनि भोकलाई ढाँट्न सकिन । खाना बनाएँ । आफू खाएर उसको लागि पनि सानो टिफिन बक्समा खाना राखें ।

रातिको काम थियो। टिफिनको खाना बोकेर म पुन पाकिस्तानीको घर पुगें जहाँ बुढालाई राखेको थिएँ । मनमा ईख, रिस बदलाको भावना जे भएपनि मानविय गुण कायम थियो ममा ।

घन्टी बजाएँ । ढोका खोल्न धेरै समय लगायो। हेर्दा गहिरो निन्द्राबाट व्युँझिए जस्तो देखिन्थ्यो। “खाना खाएर सुत्नु, म काममा जान्छु, भोलि आउँछु फेरी” यति भनेर लगेको खाना राखेर म कामतिर हिँडें । उ अक्क न बक्क भयो। मैले उ प्रति दया देखाउन सकिन।

भोलिपल्ट बिहानै मोबाईलको एउटा नयाँ सिम बोकेर उसको कोठामा गएँ । मोबाईल उ सँग नै थियो।

यति भनें “म साथीहरुसँग कुरागर्दै छु। अर्को कोठा नपाउन्जेल यहिँ बस्नु।” कोठाको समस्या देखाउँदै मैले उसको मनमा डर पनि जगाएँ।

मेरो चाहना ऊसँग बस्ने थिएन। नत म उसलाई यहाँ नै बोलाउँथें। सासु ससुराको मुख हेरेर दया गरे।

ऊ ईटली, स्पेन अथवा पोर्चुगल गयो भने मेरो समस्या नै समाधान हुन्थ्यो झैं लाग्यो। ऊसका आफन्तहरु पनि थिए ती ठाउँमा।

मैले हिजो राखिदिएको टिफिन हेरें । खाना आधा मात्र खाएछ। लुगा पनि फेरेको रहेनछ।

मैले ‘नुहाउनु,सफा भएर बस्नु’ भन्ने आदेश दिएँ । म उसलाई चाहिने सामान र केही खानेकुरा किनिदिन पसल तिर गएँ ।

पसलबाट केही सामान लिएर राखिदिँदै भनें ‘अब आईँन्दा आफैं खाना बनाएर खानु। अनुशासित भएर बस्नु। केही अप्ठ्यारो परे फोन गर्नु। मेरो काम छ म जान्छु’ भन्दै कोठा छाडेर हिँडें।

यसरी मैले पाँच दिन बुढासँग एकोहोरो ब्यहोरा देखाएँ । उसको कुरा सुनिन। मन मरेपछि केही गरि नफर्किने रहेछ। ममा उ प्रति दया माया केही थिएन। छैठौं दिन ऊ आफैंले भन्यो ‘म ईटली जान्छु ।’

उसको फूपू दिदी र भिनाजु थिए उता । मैले सहजै ‘हुन्छ’ भनी दिएँ । त्यहि दिन टिकट काटिदिएँ ।

ऊ नेपालबाट आएको सातौं दिन। पुन: उसलाई छोड्न म एयरपोर्ट गएँ । उ ईटलीको लागि उड्यो । म आफ्नो कोठा फर्कें।

भोलिपल्ट पाकिस्तानीको घरमा गएर मान्छे बस्दैन । डेनमार्क छाडेर गयो भने । एक महिनाको भाडादिएर फर्किएँ ।

म एक्लो हुँदा स्वतन्त्र थिएँ । बुढा आएदेखि पिंजडाको चरी भएँ । तनावमात्र थपिया थियो। त्यो तनावबाट मुक्त भएँ फेरि।

म आफ्नै दुनियाँमा फर्किएँ । बुढा ईटलीमा आफन्तकहाँ बस्न पुग्यो। तीन हप्तापछि उसको भिनाजुले होटलमा भाँडामाझ्ने काम लाईदिएछन् । काम गरेको भोलिपल्टै नेपाल जान्छु भनेछ।

नेपालमा डुलेर खानेले यहाँ के काम गर्न सक्थ्यो र ? सासू र अष्ट्रेलियाबाट दाईले फोन गरेर मलाई सोधे ‘अब के गर्ने ?’

मैले सिधै अलि कडा जवाफ दिएँ ‘तपाईको छोरा अनि भाइ हो आफै निर्णय गर्नुस।’

ऊसले ‘टिकट पठाउनु, नभए म समुन्द्रमा डुबेर मर्छु’ भनेछ । आमाको मन न हो । टिकट पठाएछन्।

विदेश पुगेर सप्रिन्छ कि भनेको छोरो पाँच हप्ता नि टिकेन।

रुषा बोल्दाबोल्दै रोकिई । गला सुकेछ। पानी पिई ।

वाईन गिलासतिर हेर्दै भनी ‘वाईन सकिएछ ।’

मैले सोधिहालेँ ‘अरु पिउने होर ? पसल बन्द हुन्छ। अरु पिउने भए बारमा
जानू पर्छ।’

रुषा, रुबिना मुखामुख गरेर हाँसे। ‘भो आज त नजाने’ एकसाथ जवाफ दिए ।
उनिहरुको कुराले मेरो मन अमिलो भयो । तर बाहिर देखाईन । कुरा बङ्गाएर सोधिहालेँ ‘रुषा अनि तिम्रो कथा त अपुरो भयो नि।’

उसले हाँस्दै उत्तर दिई ‘कथा के नै छ र अब ?’

फेरि कुरा अगाडि बढाई -‘बुढा आफ्नो बाटो लाग्यो। मैले दु:ख सुख यहाँ प्राईभेट कलेजबाट ब्याचलर सकें । मास्टर्स त्यही कलेज पढ्न फि धेरै लाग्ने। युनिभर्सिटीमा भर्ना लिएन। चार वर्ष बसें। अब धेरै कुरा दु:खले सिकायो। थोरै कुरा समयले। अब डेनमार्क बस्दिन। बाँकि समय छोरासँग बिताउँछु। सानो जागिर खान्छु। आफ्नो जिन्दगिमा रमाउँछु। त्यो मुर्दासँग बस्दिन अब ।’

बुढाप्रति रिस देखाई ‘अब डिभोर्स गर्छु । आफ्नो जिन्दगी आफ्नै तरिकाले जिउँछु।’

‘म सधैंको लागि नेपाल फर्कन लागेको। त्यही भएर यो रुबिनासँग छुट्टिने बेला घुमौं भनेर यता आएको’नि ।’ कुरा सक्दै उ त हाँस्न पो थाली।

रुषाको हाँसो देखेर रुबिनाले बोलीहाली ‘यसलाई त लाग्यो कि के हो ? अघिसम्म रुदै थिई । अहिले त हाँस्न पो थाली।’

रुषाले बोलिहाली ‘वाईन साँच्चै सकियो है ।’ उसलाई पिउन मन भए जस्तो बुझें मैले।

रुबिनाले म तिर हेरी।

मैले सोधें ‘अरु पिउने भए बारमा जानू पर्छ ।’

रुषाले कुरा थपी ‘पिउन मन छ तर ढिला हुने होकि ! हिजो पनि ढिला भयो।’

‘अब अरु कथा नै सुन्ने भए चैं नेपालमा सुनाउँला। यो पटक यतिनै ।’ रुषाको कुराले मलाई अलिकति दु:खि बनायो। फेरि कर गर्दै भनें ‘ल त्यसो भए तिम्रो विदाई सम्झेर अन्तिम पटक पिऊँ न त ।’

मेरो कुराले दुबैजना दोधारमा परे ।

रुबिनाले कुरा थपी ‘धेरै नबस्ने है त ?’

मैले सहमति जनाएँ। उनिहरुले पनि सहमतिको टाउको हल्लाए।

हामी बारमा गयौं। मैले एक बोटल वाईन सँगै तीन वटा गिलास र पानी मगाएँ।

वाईन पिउँदा मैले रुबिनालाई सोधेहालेँ ‘तिम्रो चैं दुखको कथा छैन ?’

उसले उत्तर दिई ‘सुख वा दुखका कथा नहुने को हुन्छ जिवनमा ! हरेक व्यक्तिको आफ्ना आफ्ना कथा व्यथा हुन्छन् नी !’

मैले फेरि सोधेँ ‘तिमी पनि खासै खुसि देखिँदैनौ। हिजो पनि आफ्नो बुढाप्रति रुष्ट देखिनथ्यौ। फेरि राजनितिर राजनितिज्ञ प्रति घृणाभाव तिमिमा। मलाई पनि राजनीति नगर्नु भन्ने सल्लाह पो दिँदै थियौ । किन ? केही कारण छ र ? ।

ऊसले जवाफ दिई ‘मेरो पनि लामो कहानी छ । तर यति बुज्नुस मेरो पनि अवस्था रुषाको जस्तै हो। कथा फरक होला। यति हो । यसको बुढा सँगै छैन। मेरो सँगै छ। तर भएर पनि नभएको जस्तो छ।

मैले फेरि सोधें ‘त्यति सारो घृणा गर्नुपर्ने कारण ?’

उसले कुरा अगाडि बढाई ‘धेरै छन्। ती मध्ये केही राजनितीले छोएको छ। केही भाग्यले।’

ऊसले थपी ‘म गाऊँबाट काठमाडौं पढ्न आएकि थिएँ। काठमाडौंको एक कलेजमा पढ्दा पढ्दै (बुडा) ऊ सँग चिनजान भयो। चिनजान मायामा बदलियो। घरपरिवारले स्विकारेनन। मैले घर छाडेर भागें। हामीले भागि बिवाह गर्यौं । ऊ कलेजमा हुँदापनि अलि अलि राजनीति भन्दै दौडिन्थ्यो। ऊसको गाऊँका अलि टाढाको आफ्न्त राजनितिज्ञ थिए। आफ्नो ठाउँका कहलिएकै नेता थिए। मेरो बुढाको दिदीको नातेदार थिए उनी। पछि मन्त्री सम्म भए ।

उसले निरन्तर सुनाउँदै गई “ती दिदी मन्त्रीको बुहारी पर्थिन। नेताजिको टाढाको भाइ पर्ने सँग दिदीले बिहे गरेकि थिईन् । साईनोले मन्त्रीजीको भाइ पर्ने चैं ठेक्कापट्टा गर्थे। दिदी पनि महिला नेत्री भन्दै हिँड्थिन । ती भाइ ठेकेदार कम दलाली ज्यादा गर्थे। मन्त्री हुदा उनले ती ठेकेदार भाईलाई अमेरिका छिराए। उनिले भाईसमेत पैसा लिएर। राजनिती कार्यक्रम भनेर ती भाईसँग अरु पाँच सात जना पनि छिराए।

दुर्भाग्य ! ती भाइ अमेरिकामा बाटो काट्दा सडक दुर्घटनामा परेर मरे। रक्सिको नसामा बाटो काट्दा कारले ठक्कर दिएछ। ठाउँका ठाउँ बिते। देख्नेले त्यहि खबर सुनाए।

एक दुई वर्ष यतिकै बित्यो। दिदी पछि तीनै नेताजिको घरमा बसिन् । दुई, चार, छ महिना बित्दै जाँदा वर्ष बित्यो।

नेताजी र ती हाम्रा दिदी बिचको सम्बन्ध बाहिर देखिन थाल्यो। पारिवारिक साईनो जे भए पनि मान्छेले सुरु सुरु खानेखुसि गर्थे। पछि त सबैतिर कुरा काट्न थाले।

पछि त दिदीपनि अमेरिका जाने आउने गर्न थालिन्। सबैकुरो एकनास नहुने नेता जि सत्ता र शक्तिबाट बाहिर भए। उनी एक्लो भए। नत नेताजिको जीवन सुखमय भयो नत हाम्री ती दिदीको। दुबै जना भासिए। नेता उठ्न नसक्ने गरि भासिए। हाम्री दिदी अमेरिका भासिईन्।

मेरो बुढाको गाऊँ सार्है विकट ठाऊँमा छ । म एकपटक मात्र पुगेको थिएँ। आफूखुसि बिहे गरेकोले पारिवारिक सम्बन्ध पनि राम्रो भएन। घरकाले हामीलाई राम्रो व्यवहार गरेनन्। फेरि जातको प्रश्न उठ्यो। हामी बिच जातको फरक थियो। ऊ क्षेत्री कुलको थियो। म नेवार । हामी आफ्नै घरमा जातीय विभेदमा पर्यौं ।

बिहेपछि लगतै हाम्रो बच्चा जन्मियो। दुईबाट तीन भएपछि पारिवारिक खर्च बढ्न थाल्यो। काठमाडौंको ठाऊँ गाह्रो हुँदै गयो। बुढाको गतिलो जागिर थिएन। जे भएपनि तीनै नेता मार्फत एक दलालीले मेरो बुढालाई कोरिया पठाए।

कोरिया बस्दा’नि बुढा राजनीति भन्दै नेपालकै राजनितिक दलको झन्डा बोक्दै हिँड्यो। काम गर्ने। तर समयमा खाना नखाने। आफ्नो स्वास्थ्यको ख्याल नगर्ने। खैनि, चुरोट, रक्सि पाएसम्म सबै खाने। सबै खाने कुलतले गर्दा टिबी रोग लाग्यो।

टिबी भएपछि कमजोरी भयो। पछि दम भयो। काम गर्न सकेन। नेपाल फर्कियो। कमाउन गएको बुढा आधा शरीर भएर आयो । दुई बर्ष उपचार गर्यो । औषधि खायो। आराम गर्यो। टिबी ठिक भयो। तर ऊ भित्रको राजनितिक रोग ठिक भएन। दम ठिक भएन। ऊ मानसिक रोगी झैं भयो।

फेरि तीन वर्ष पछि अर्को बच्चा जन्मियो। हामीलाई पहिले भन्दा झन गाह्रो भयो।

कसैले सल्लाह दिए ‘पढ्ने नाममा डेनमार्क जाओ । राम्रो कमाई हुन्छ। अलि फरक ठाऊँ। युरोपको विकसित देश। बुढाले बुझ्छ कि यता आएपछि भन्ने भयो ।

यता आए पनि गतिलो ताल देखाएन। सुरु सुरुमा त अलि ठिक थियो। पछिपछि बुढाको ताल उस्तै भयो। अहिले ८ वर्षमा पनि उस्तै छ ।

सँगै आएकाले यता पनि घर जोडे। गाडि जोडे । पिआर लिए। देश विदेश घुम्या छन्।
कसैले बाआमा कसैले सासू ससुरा घुमाएका छन्। कसैले नेपालमा जोडे। घर किने। हामी भने यता न उताका भएका छौं । बुढालाई सम्झाउँछु। रिसाउँछ मात्र । घर बनाउँछु भनेर हातमा नक्सा बोकेर कुदेको नि दुई वर्ष भयो। बनाउने परको कुरा जगसम्म खन्न सकेन।

हुँदाहुँदा नेपाल जाँदा’नि अरुले टिकट काट्दिनुपर्ने अवस्था आयो। त्यहि’नि पश्चाताप वा आत्मग्लानी छैन। मन्त्री नै हुन्छु झैं गर्छ। सबैले छिछि र दुरदुर गर्छन्। र पनि लुतो आको कुकुर झैं चुईचुई गर्दै दौडिन छोड्या छैन।

आफ्ना बा आमालाई दुई पैसा दिनु छैन। नत कतै राम्रो ठाउँ घुम्न गएको छ। तर नेपालदेखि आएका नेता भनाउँदा र उनका श्रीमतीलाई उपहार दिन आतुर हुन्छ। आफू कतै घुम्न जान पाएको छैन। ऊ भने नेताको पछि लाग्दै दौडन्छ।

मैले कति पटक ती नेताहरुले घरमा खाना ख्वाएको छु। खाएको जुठो भाडा सफा गरेर बसेको छु। रक्सिका गिलास धोएको छु । तिनका श्रीमतीको सेवा गरेक‍ो छु। वासिङ मेशिनमै भएपनि तिनका लुगा धोईदिएको छु। मलाई मन नपरे पनि । बुढाले घरमा नै लिएर आउँछ। कसैलाई त एक हप्तासम्म राखेको छ। मान्छेको अगाडि रिसाउनु भएन।कहिलेकाहिँ दिक्क लाग्छ।

राजनीतिले देश बिगार्य‍ो। नेताले देश विगार्यो भन्ने । अनि विदेश आएर पनि तिनिहरुकै चाकडि गर्ने। मेरो त पारिवारिक खुसि हरायो। तपाईंको त्यस्तो नहोस् भनेर हो । यहि भएर तपाईलाई पनि भनेको । मलाई राजनिती गर्ने मान्छे मन पर्दैन भनेर। हुनत सबै त्यसतो गलत पनि नहोलान।

रुबिनाले असाध्यै धेरै खिन्नता प्रकट गरि।

मैले सिधा जवाफ दिएँ ‘मलाई पनि राजनितिमा चासो छ। देशको चिन्ता छ। तर म तिम्रो बुढा जस्तो पुच्छर नै भएर चै हिँड्दिन। राम्रो नराम्रो चिन्न सक्छु। सहि गलत छुट्याउँछु । नेता पनि मान्छे हुन् । भगवान होईनन् । नेतालाई चिन्ने हो । बुझ्ने हो। पुज्ने होईन। म त्यस्तो गर्दिन । हुँदिन पनि।

‘जे भएपनि तिम्रो सल्लाहको लागि धन्यवाद’ ऊ मुसुक्क हाँसि।

पिउँदा पिउँदै रुबिनाले फेरि कुरा थपि ‘निल जी हाम्रो यो अन्तिम भेट है। भोलि बिहान भेट भएन भने तपाईं राम्रो सँग जानुस है ! कोपेनहेगनमा कतै भेटिए बेग्लै कुरा। नत्र यात्राका कुरा सबै भुलिदिनुस् ।’

‘रुषा पनि नेपाल गईहाल्छे। जेहोस् दुई दिनको यो यात्रा यादगार भयो। तपाईं मान्छे रमाईलो हुनुहुँदो रहेछ’ त अलि भावुक पो भई यो पटक ।

म मनमनै बोलें । अर्काको बुढीको पछि को लाग्छ र कोपेनहेगनमा ? फेरि मैले बारम्बार सम्झिराख्न जरुरि पनि छैन। आखिर सम्झनु नै किन ?

मनमा जे सोच आएपनि यो यात्रा मेरो लागि पनि यादगार थियो। मैले जवाफ दिएँ ‘भुल्नलाई सजिलो नहोला तर पनि भुल्ने कोसिस अवश्य गरुँला ।’

‘जे होस्। यो यात्रामा म एक्लो थिएँ। तिमिहरु दुईले साथ दियौ। रमाईलो भयो। चिन्ने मौका पाएँ। दुई जनाको दुख थाहा पाएँ । दुई जनाको कथा पाएँ । सबैको जीवन फरक छ। कथा फरक छ। म खुसि छु। दुबै जनाले मलाई सम्मान दियौ। कुनैदिन जाँघर चले यो यात्राको बारेमा लेख्नेछु ।’ दुबैजना मतिर हेरेर टोलाए।

‘बरु कोपेनहेगनमा कुनै दिन तिम्रै छिमेकि भएर आएँ भने चैं के गर्छौ नि ?’ रुबिनालाई प्रश्न गरे मैले ।

उसले प्रश्न सकिन नपाउँदै रिसाए झैं जवाफ फर्काई ‘जुत्ता खान मन छ र ?’

मैले अघिल्लो दिनको कुरा सम्झाई दिएँ ‘तिमी हिजो कै जस्तै मस्त मातिएर पिउँछौ भने त सबै खान तयार छु नि । केले प्रहार गर्छौ ?’

माथिदेखि तल सम्म हेरें उसलाई। उसले मेरा दिअर्थि शब्द बुझी ।

मेरो कुराले रुबिना मरिच झैं सुकि । म हाँसेँ ।

उतर म आफैंले दिएँ ‘म तिम्रो छिमेकि भएर आए भनें अर्को छिमेकिले फेरि अर्के कथा लेख्ला नि।’

फेरि जिस्क्याई हालें ‘बुढालाई जुता नै हानेर तह लाए भो त। त्यहि मात्र आऊँदो रहेछ तिम्रो मुखमा। जे भएपनि सम्झाउ बुढालाई।

उसको बुढा प्रति मेरो मन भित्रबाटै गालि निस्कियो ‘सन्ठ मात्र हैन प्वाल परेको खलाँती परेछ मुला ।’

हुनत मुर्ख र शंख जति फुक्यो त्यति बज्छ भन्छन् । त्यो मुला चिन्नु न जानुको ल्वाङ्गेको बारे के सोच्नु। जेसुकै गरोस्।

मनमा अर्कै प्रश्न उठ्यो। यो रुबिना अघिसम्म अर्कै थिई । अहिले फेरि भावुक भई।
मन परे पनि भागेर बिवाह गरेको भन्थी । बुढाको गुनासो पनि गर्छे। दुख पनि देखाउँछे। फेरि अर्काको बुढासँग दिल खोलेर पिएर’नि बस्छे। मातिए पछि अर्कै रुप पनि देखाई। म एक छिन टोलाएँ।

‘यसको चालामाला त ठिक छ ?’ अर्को मनले सोच्यो। पोईल आएकि बुहारीको भर हुँदैन भन्थे गाउघरतिरका र बुढाबुढीहरु। यसले’नि लक्षण चैं राम्रो देखाईन । म आफैं चुप भएँ।

रुबिनाको कुरा सकिने बित्तिकै रुषा बोली ‘के हाम्रो मात्र कथा सुन्ने? तपाईको चैं छैन र केही ?’

‘छन त छ । के चाहिया हो र ?’ मैले हाँस्दै जवाफ दिएँ ।

उसले झर्कँदै भनि “कथा नि अरु के हुनु र ? कती जिस्कन मन लाग्छ हो तपाईलाई’।

मैले फुर्ति लाएँ ‘लेखक ले लेख्छ । सुनाउँदैन।’ म आफूलाई ठूलै लेखक भएझैं देखाउन थालें। जस्तो लाटो देशमा गाँडो तन्नेरी भन्ने उखान झैं।

म प्रति हेर्दै रुषा फेरि बोली ‘हाम्रो कथा लेखे शीर्षक चैं के राख्नु हुन्छ नि ?’

मैले हाँस्दै जवाफ दिएँ “सेक्स् अन द विच- अ ककटेल।”।

रुषाले हाँस्दै कुरा थपी ‘ल तपाईको कथा अरु तन्काउनु पर्छ । कथा तन्काउनलाई थप्नु पर्छ।’

‘फेरि थपौं न त ?’

मैले अबुझ झै सोधें ‘के ?’

उसले हाँस्दै बोली ‘तपाईकै मनपर्ने ” सेक्स अन द विच ।’

छेउमा बसेकी रुबिनाले रुषाको कुरा सुनेर हाँसीमात्र ।

मैले उसको हाँसोपनि बुझें।

मैले छेउमा उभिरहेको वेटरलाई वोलाएर तीन वटा “सेक्स अन द विच- ककटेल” मगाएँ।

एक छिनमै वेटरले हाम्रो टेवलमा तीन वटा ककटेल राखिदियो।

हामी तीनै जनाले ककटेलको गिलास उठायौं। गिलास एक अर्कामा ठोक्काउँदै एकै स्वरमा भन्यौं ‘चियर्स !’

(समाप्त)

तपाइँको प्रतिक्रिया