शनिबार, वैशाख १५, २०८१

बेलायतमा एनआरएनए यूकेको पहलमा नक्कली भुटानीको ‘सूची’ तयार हुँदै

नेपालप्लस संवाददाता / बेलायत२०८० जेठ ३ गते १४:३८

नेपालमा नक्कली भुटानी प्रकरणमा नेता, कर्मचारी समातिने क्रमले उग्र रुप लिइरहेका बेला बेलायतमा समेत नक्कली भुटानीको सूची बनिरहेको छ ।

एनआरएनए यूकेको पहलमा बेलायतको आवासीय अधिकार लिनकै लागि आफूलाई भुटानी भनेका नेपालीहरुको सूची तयार भएको हो । उक्त सूचीमा गैर आवासीय नेपाली संघ केन्द्रका पदाधिकारीदेखि नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्ष, बेलायतमा पार्टीका नेता हुँ भन्ने, गायन पेशामा आवद्ध व्यक्ति, युरोपकै पुरानो नेपाली संस्था यती एसोसिएसन यूकेमा महासचिव भइसकेका व्यक्ति समेत छन् ।

स्रोतले बेलायतमा तीन हजार नेपाली नक्कली भुटानी भएको जनाएको छ। बेलायत बस्नकै लागि भुटानी शरणार्थी बनेर सार्वभौम स्वतन्त्र देशको बद्नाम गर्ने, जन्मभूमिप्रति घृणा फैलाउने र ब्रिटिश सरकारको आँखामा छारो हालेर गैर कानूनी काम गर्नेहरु सजायको भागिदार बन्नु पर्छ भनेर यस मुद्दालाई बढाएको भनाई एनआरएनए यूकेको छ ।

नेपाली नक्कली भुटानी बनेर ब्रिटिश सरकारको आँखामा छारो हाल्ने ठुला माछाबाट प्रकिया अगाडि बढाइएको स्रोतको दावी छ। यथेष्ट प्रमाण बटुलेपछि ति विरुद्ध होम अफिसमा उजुरी समेत गरिने चेतावनी एनआरएनए यूकेले दिएको छ ।

यसैबीच, एक नक्कली भुटानीकै आयोजनामा आउँदो २१ मे आइतबार लन्डनमा हुने भनिएको एक अवार्ड कार्यक्रम वहिष्कार गर्न एनआरएनए यूकेले आव्हान गरेको छ।

‘होम अफिसको रेकर्डमा नक्कली भुटानी तर आफूलाई वरिष्ठ पत्रकार भन्ने नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्षले चन्दा उठाउँदै गर्न लागेको अवार्ड कार्यक्रम समस्त बेलायती डायस्पोराकै लागि लज्जाको विषय हो । त्यस्तो कार्यक्रममा गएर, सम्मानको खोस्टो बोकेर उल्टै आफ्नो उचाईं नघटाउन सबैमा अपिल गर्दछौं’-एनआरएनए यूकेले भनेको छ ।

नेपालको अनुसन्धान केन्द्रमा अस्थायी जागिर खाँदाखाँदै नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष उनी बेलायत आएका थिए । यता आएपछि उनले भुटानी शरणार्थी बनेर ब्रिटिश पासपोर्ट लिएको दाबी एन आर एन ए युकेको छ ।

उनले ब्रिटिश सरकारको आँखामा छारो हालेको, पत्रकारिताको आडमा बेलायतको नेपाली समाज भाँडेको, मानिसको चरित्र हत्या गर्ने गरेको, धम्क्याउने र एनआरएनए सञ्जालको दुरुपयोग गर्ने गरेको भन्दै नक्कली भुटानीले वंशजका नेपालीहरुलाई ठगी गर्न गरिएको अवार्ड कार्यक्रम जानुको औचित्य नरहेको संघको भनाइ छ ।

तपाइँको प्रतिक्रिया