बिहीबार, वैशाख १३, २०८१

कसरि चल्छ फ्रान्सको कर प्रणाली ?

अनुराधा पौडेल / फ्रान्स२०८० जेठ ७ गते १७:३८

अनुराधा पौडेल

यतिबेला फ्रान्समा असाध्यै रमाइलो मौसम छ किनभने जताजतै फूल फुलेको छ । अनि बर्षैपिच्छे यहि फूलको याममा अर्थात बसन्त ऋतुमा (अप्रिल र मे महिनामा) हरेकले आम्दानी घोषणा गर्नु पर्छ । फ्रान्सेली सरकारले परिवारको संख्या हेरेर आम्दानी कर तिर्ने एउटा दायरा बनाएको छ । यस्तो दायरालाई यहाँ प्लाफों (Plafond) भनिन्छ । जसले आम्दानीको यो दायरा नाघ्छ उसले राज्यलाई आयकर तिर्नै पर्छ ।

फ्रान्सको कर सम्बन्धि सम्पूर्ण जानकारि दिने वेभसाइट आपोँ प्वाँ गुभ प्वाँ एफएर (https://www.impots.gouv.fr) का अनुसार पोहोरको बर्ष अर्थात सन् २०२२ मा ७४ अरब युरो रकम ‘आम्दानी कर’ शिर्षकमा राज्यले सँकलन गरेको थियो । तर बर्षेनी फ्रान्समा कर तिर्न सक्ने क्षमता गुम्दै गइरहेको छ । जस्तो कि सन् 2017 मा आम्दानी कर मार्फत राज्यले करिव 77 अरब युरो सँकलन गरेको थियो । कुल जनसँख्याको लगभग ४३ प्रतिशत जनसँख्याले फ्रान्सको सरकारलाई आम्दानी कर तिर्छ । कुनैपनि सामान किन्दा तिरिने भ्याट भने धनि गरिव सबैले एकनासले तिर्छन् । भ्याट मार्फत तिरिने यो पैसा पनि अन्तत राज्यकोषमै दाखिला हुन्छ । एक वेभसाइट https://www.vie-publique.fr का अनुसार फ्रान्सको सरकारले एक शय दुइ अरब अर्थात (एक खरब भन्दा बढी ) रकम भ्याट मार्फत र ५८ अरब युरो निगम या व्यपारिक प्रतिष्ठान मार्फत कर सँकलन गरेको हुन्छ ।

फ्रान्समा ओसतमा एक परिवारको बर्षको आम्दानी बर्षको ४३ हजार युरो हो । यति आम्दानी भएको र छोराछोरी नभएको एक जोडीले फ्रान्सेली सरकारलाई लगभग चार हजार चार शय कर तिर्छ । यो भनेको नौ दशमलब ७७ प्रतिशत कर हो ।

फ्रान्समा आयकर घोषणा गरिने कागज अति महत्वपुर्ण कागज हो । यो कागज नभएसम्म न्युन आय भएका मानिसहरुले पारिवारिक भत्ता (Allocation familiale) लिन सक्दैनन भने स्कूल गइरहेका बच्चाहरुको लागि चमेना गृह (Cantine)  देखि बैकबाट ऋण या सिडीओ कार्यालय (Préfecture de police) बाट लिनुपर्ने सुबिधा लगायत सामाजिक घरको माग demande de logement sociale जस्ता अनेकौ साना तिना र ठूला कामहरु गर्न सकिँदैन ।

हरेक वर्ष मे महिना अघिल्लो वर्षको आम्दानी घोषणा गरिने महिना हो । बेरोजागार भत्ता या बाँच्नका लागि सरकारले दिने न्युनतम पैसा पाएका मानिस देखि बैधानिक कागज नभैसकेका या शरणार्थी माग गरिएको या यस्तै अन्य बाध्यात्मक परिस्थितिमा बसेका जो कोहिले पनि यस्तो आम्दानी फाइल भर्न सक्छन् । यस्तो आम्दानी फाइल भर्ने मानिसले १३ अंकको सिम्बोल नम्बर प्राप्त गर्छन् । सिम्बोल नम्बर भएका मानिसहरुले इन्टरनेट बाटै आफ्नो आम्दानी रकम भर्न सकिन्छ । यसरी इन्टरनेटबाटै  आम्दानी घोषणा गर्ने ब्यवस्था फ्रान्समा सन् २०१९ देखि प्रचलनमा आएको हो । इन्टरनेट चलाउन नजान्नेहरुलाई भने राज्यले घरमै आम्दानी फाइल भर्ने फाराम पठाउँछ । भर्खर मात्र बैधानिक कागज बनेकाहरुले पनि हुलाक मार्फत नै फाराम प्राप्त गर्छन् । तर जसको निश्चित ठेगाना छैन (sans domicile fixe) उसले भने कर कार्यालयमै गएर यस्तो फाराम ल्याउन सक्छ ।

देश भन्नु रंगिबिरंगी नागरिक अर्थात फरक जात जाती अनि अनेकौं सँस्कृति र सभ्यताको समिश्रण हो । यि सबै खाले मानिसको केहि साझा कर्तब्यहरु हुन्छन् जसमा मुख्य कुरा राज्यलाई कर तिर्नु हो ।

धनी या गरिब दुवै खाले देशमा नागरिकले तिरको करको सदुपयोग भएन भन्ने प्रश्न उठेको हुन्छ । नेपालमा नागरिकले तिरेको करको पैसा भ्रष्टाचार भयो भन्ने सुनिन्छ भने फ्रान्समा चाँही देशलाई अनाबस्यक युद्दमा होमेको (जस्तै लिबिया युद्द), या आतंककारी गतिबिधि रोक्ने नाउँमा माली जस्तो देशमा सेना परिचालन या अनाबश्यक रुपमा आणविक इन्धनको अनुसन्धानमा खर्चेको जस्ता कुराहरु मिडियाहरुमा बारबार आइरहेको हुन्छ ।

नागरिकले देखाउने आम्दानी मार्फत राज्यले आफ्नो देशमा कति प्रतिशत नागरिक गरिबीको रेखामुनी छन् या मध्यम या धनी वर्गमा छन् भनि पहिचान गर्छ । त्यहि अनुसार नीति नियम बनाउँछ । अनि नागरिकबाट असुलिने करको ठूलो हिस्सा राज्यले सार्वजनिक सेवाहरूको वित्तपोषण जस्तै स्कूल, अस्पताल, सडक या जलमार्गहरू, सुरक्षा सेवाहरू, राष्ट्रिय रक्षा, आदिको लागि खर्च गर्छ । जस्तै भ्रष्ट मुलुकमा पनि यो काम भैरहेको हुन्छ । यो बाहेक उच्च आम्दानी भएका व्यक्तिहरूबाट लिइने करले राज्यकोष बृद्दि गर्ने र कम आय भएका व्यक्तिहरू, वृद्धहरू, अपाङ्गता भएका व्यक्तिहरू आदिका लागि फाइदा हुने सामाजिक कार्यक्रमहरूको लागि खर्च हुन्छ । जस अन्तरगत सामाजिक सुरक्षा भत्ताहरु पर्छन् । यसले नागरिकहरुबिच आर्थिक र सामाजिक असमानता कम गर्न मद्दत गर्छ।

नागरिकबाट असुलिने करको दायरा यतिमा मात्र सकिँदैन । सरकारले प्राप्त गर्ने यस्तो करबाट लगानी, अनुसन्धान र विकास, नवप्रवर्तन आदिलाई प्रोत्साहन हुने कार्यक्रम ल्याइरहेको हुन्छ । यस्तो कामले समुदाय, समाज, देश हुँदै समग्रमा मानव कल्याणकारी कामहरुको पनि सृजना गर्दछ । मानव हितका लागि हुने अन्वेषणहरुलाई नै हेरौं । बिकसित देशले आफ्नो बजेटको पाँच देखि सात प्रतिशत रकम यस्तै मानव कल्याणकारी कामहरुका लागि खर्चेका हुँदैनन् । फरक यति हो कि प्रत्येक देशको कर कानून फरक हुन्छ । करका प्रकारहरु फरक हुन्छन् र सङ्कलन गर्ने तरिका पनि फरक हुन्छ ।

जति बढी कमाइन्छ त्यति नै बढी कर तिर्नु भनेको प्रगतिशील आयकरको सिद्धान्त हो । फ्रान्समा लगभग यस्तै देखाउन खोजिएको छ कागजमा । तर व्यवहारमा धेरै धनिहरुले कर ज्यादा तिर्नुपर्ने भएकाले बिदेशमा महँगा घरहरु किनेको या कम्पनिहरु सारेको या कर तिर्नु पर्ने बहानामा थप अन्य व्यवासायतिर लगानी गरेको बारेमा रेडियो या टेलिभिजनहरुमा प्रसस्त समाचार आइरहेका हुन्छन् ।

फ्रान्समा आम्दानी हेरिकन शुन्य देखि ४५ प्रतिशत सम्म आम्दानी कर तिर्नु पर्ने नियम छ । यो एक प्रगतिशील कर स्केल हो । ४५ प्रतिशतसम्म कर तिर्नेहरुको जनसँख्या फ्रान्समा जम्मा शून्य दशमलत दुइ प्रतिशत रहेको छ । नागरिकहरुकालागि बस्ने अपार्टमेन्टहरुको ज्यादै ठूलो अभाव फ्रान्सले भोगिरहेको छ । घरहरु छन् तर धनिहरुका हातमा भएका यस्ता घर तथा अपार्टमेन्टहरु अक्सर खाली नै रहन्छन् । यस्तो अबस्थाबाट अलिकति भएपनि त्राण पाउन राज्यले धनिहरु व्यक्तिहरुलाई नया घरहरुको निर्माण या नया अपार्टमेन्टहरु खरिद लागि प्रोत्साहन गर्ने नियम (un dispositif d’investissement locatif dit Pinel) ल्याएको छ । यसरी लगानी गर्दा राज्यलाई भन्दा व्यक्तिलाई फाइदा हुने भएकोले तपाइ हामीले हाम्रा वरपरका व्यापारी या व्यवासयिहरुले घर तथा अपार्टमेन्ट खरिद बिक्रितिर पनि हात हालेको देख्छौँ ।

फ्रान्सको कर प्रणाली घरमा कति जना मानिस छन् त्यसका आधारमा तय गरिन्छ । कुनै एकल व्यक्तिले गत साल कूल १० हजार सात सय ७७ युरो सम्म कमाएको थियो भने उसले कर तिर्नु पर्दैन । जसले २७ हजार चार शय ७८ युरो सम्म कमाएको थियो उसले ११ प्रतिशतसम्म कर तिर्ने छ । जसले ७८ हजार पाँच शय ७० सम्म कमाएको थियो उसले ३० प्रतिशत सम्म कर तिर्नेछ र जसले एक लाख ६८ हजार ९ शय ९४ युरो भन्दा ज्यादा कमाएको थियो उसले ४५ प्रतिशत कर तिर्नुपर्नेछ । कर तिर्दा कर छुटका अनेकौं सुबिधा पनि दिइएको हुन्छ । नेपालमा रहेका माता पिताका लागि पाँच हजार सम्म युरो पठाएको भए त्यस पैसामा लाग्ने कर छुट माग्न सकिन्छ । यसैगरी छोराछोरीका लागि गरिएको खर्च देखि रेडक्रस जस्ता ठूला मानविय संस्थाहरुलाई दिएको पैसा पनि छुट माग्न सकिन्छ ।

सानो सन्दर्भ जोड्न चाहेँ । बैधानिक बन्न नसकेको या शरणार्थि कागजमा भएका मानिसहरुले पनि आम्दानी फाइल भर्नु उचित हुन्छ । चाहे एक शय युरो या एक हजार युरो नै किन नहोस आम्दानी फाराम भरियो भने त्यो भनेको फ्रान्स बसेको एक प्रमाण हो। यस्तो कागज जुन बेला तपाइ बैधानिक बन्दै हुनुहुन्छ त्यो बेलाका लागि प्रमाण पेश गर्ने एक माध्यम बन्न सक्छ । अबैधानिक भएका बेला कर कार्यालय जाँदा मलाइ प्रहरीले समात्छ कि भनेर डराउनु पर्दैन । प्रशासनिक कागजातहरुको तोडमरोड आतंककारी गतिबिधिमा सँलग्नता या लागू औषधको कारोबार जस्ता ठुलो अपराधको अवस्था बाहेक अन्य अवस्थामा प्रहरीले समातेछ भनेपनि नेपाल फिर्ता पठाइदिने काम गर्दैन । तर यसको मतलब यो होइन कि फ्रान्समा त बस्न पाइने रहेछ । अबैधानिक भएर फ्रान्समा बस्नु बिलकुलै सजिलो छैन ।

जसले अहिलेसम्म करको सिम्बोल नम्बर पाउनुभएको छैन यस्तो व्यक्तिहरुले ध्यान दिनुहोला-आफ्नो आम्दानी भर्ने अन्तिम दिन २२ मे सोमबार सम्म छ । अर्थात भोली मध्यरातसम्म छ । इन्टरनेट बाट भर्नेहरुले भने क्षेत्रहेरिकन (département) जुन महिनाको पहिलो हप्ता सम्म भर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया