शुक्रबार, वैशाख १४, २०८१

रुसद्वारा सयौं जर्मन कामदार निष्कासन गर्ने, ‘युद्दको कुटनितिक घोषणा’ जर्मन मेडिया

नेपालप्लस संवाददाता / फ्रान्स२०८० जेठ १३ गते २०:३८

एन्जेला मार्केल र भ्लादिमिर पुटीन । फाईल फोटो स्रोत-द एटलान्टिक काउन्सिल

रुसले जुन महिनाको सुरुदेखि सयौं जर्मन कामदारहरूलाई निष्कासन गर्ने तयारि गरेपछि जर्मन मेडियाहरुले त्यसलाई युद्दको कूटनितिक घोषणा भनेका छन् ।

रसियामा काम गर्ने र बसोबास गर्ने जर्मन संस्थाका सयौं जर्मन निजामती कर्मचारी र स्थानीय कर्मचारीहरूले रुसी सरकारको आदेशमा आगामी केही दिनमा देश छोड्नुपर्नेछ वा आफ्नो जागिर गुमाउनुपर्नेछ ।

रुसले आफ्नो देशमा जर्मनीको उपस्थितिलाई तीव्र रूपमा घटाउँदै लैजाने निति अगाडि सारेको देखिएको छ।

रुसी विदेश मन्त्रालयको निर्णयको अर्थ के भने जुन १ देखि, जर्मनीले रुस पठाउन वा त्यहाँ काम गर्नसक्ने व्यक्तिहरूको संख्यामा कडा सीमा हुनेछ । जर्मनीको रूसस्थित दूतावासमा होस् वा संस्कृति, शिक्षाको क्षेत्रमा सक्रिय संस्थाहरूमा पनि यहि कडाई हुने छ ।

यो जानकारी शनिबार जर्मन दैनिक सुददोईच जेईटुङ द्वारा सार्वजनिक गरिएको हो । अखवारले यस कदमलाई बर्लिनमा “मस्कोद्वारा युद्धको कूटनीतिक घोषणा” को रूपमा वर्णन गरेको छ ।

रुसको यो कदमले सयौं मानिसहरूलाई असर गर्नेछ। तिनीहरूमध्ये दूतावास र वाणिज्य दूतावासका अधिकारीहरू मात्र पर्ने छैनन्, देशको गोथे सांस्कृतिक संस्थानका कर्मचारीहरू, जर्मन विद्यालय, किन्डरगार्टन र रूसी विद्यालयहरूमा काम गर्ने शिक्षकहरूपनि पर्ने छन् ।

जर्मन र स्थानीय रूसी कर्मचारीहरू प्रभावित हुने जर्मन परराष्ट्र मन्त्रालयले बताएको भन्दै एएफपीले उल्लेख गरेको छ । तर मन्त्रालयले कति कर्मचारी प्रभावित हुन्छन् भन्ने सटीक तथ्याङ्क दिएको छैन । “जर्मनहरूले जुन १ सम्ममा देश छोड्नुपर्नेछ । प्रभावित रुसीहरूले त्यसो गर्नुपर्दैन, तर उनीहरूले आफ्नो जागिर गुमाउनेछन्” मन्त्रालयको भनाई छ ।

जर्मन विदेश मन्त्रालयले रुसी प्रतिबन्धलाई “एकपक्षीय, अनुचित र बुझ्न नसकिने निर्णय” भनेको छ।

रहेन मित्रता

रुसी यस कदमले गर्दा अब जर्मनी र रुसबिच मित्रतासम्म नरहेको टिप्पणी जर्मन मेडियाहरुको छ ।

जर्मनीमा रूसले आफ्नो गोप्य सेवाहरूको उपस्थितिलाई केहि समयदेखि जर्मनीको परराष्ट्र मन्त्रालयको दबाबमा कमी गरेको थियो । त्यस लगत्तै रूसी विदेश मन्त्रालयले अप्रिलमा जर्मन कूटनीतिक कर्मचारी र सार्वजनिक संस्थाहरूको संख्याको लागि अधिकतम सीमा तोकिदियो । रसियामा कति कर्मचारी रहने अधिकृत रुसले तोकिदिएको जर्मन मन्त्रालयले उल्लेख गरेको छ ।

कुनै बेला जर्मन र रुसबिचको संवन्ध अत्यन्त सुमधुर थियो । तर अहिले त्यो संवन्धलाई रुस-युक्रेन युद्दले गर्दा निकै तल्लो तहमा झारिदिएको छ ।

अप्रिलमा, रुसले जर्मनीद्वारा लिईेको यस्तै उपायको बदलास्वरूप करिब २० जर्मन कूटनीतिज्ञहरूलाई आफ्नो देशबाट निष्कासनको घोषणा गरेको थियो । सुददोईच जेइटुङका अनुसार जर्मनीले हालैका हप्ताहरूमा रूसी मन्त्रालयलाई नयाँ निर्णयबाट पछि हट्न मनाउन प्रयास गरेको छ, तर रुस सहमत देखिने छाँटकाँट छैन ।

युक्रेनमा रूसको आक्रमणले जर्मनीलाई दर्दनाक, कूटनीतिक र आर्थिक यू-टर्नमा झुक्न बाध्य तुल्याएको छ । उर्जा र लगानीका क्षेत्रमा नराम्रोसित मार खाएको छ । दशकौंसम्म दुबै क्षेत्रमा रूससँग घनिष्ठ सम्बन्धमा भर परेको जर्मनीलाई युरोपेली परिषदको साझा नितिगत निर्णयलेपनि अप्ठेरोमा पारेको हो । कुनै बेलाका अत्यन्त घनिष्ट मित्र रुस-जर्मनी अहिले मित्रसम्म नरहने अवस्थामा धकेलिएको छ । उर्जामा युरोपेली मुलुककै सबैभन्दा बढी रुसी बितरणमा निर्भर जर्मनीले रुस-युक्रेन युद्दपछि रुसले ग्याँस कटौती गरिदिँदा सबैभन्दा बढी मार खारहेको छ ।

युक्रेनमाथि आक्रमण गर्नु अघि, मस्को जर्मनीको मुख्य ग्याँस आपूर्तिकर्ता र तेलको प्रमुख आपूर्तिकर्ता थियो। रुस-युक्रेन युद्दपछि जर्मनी कीभको प्रमुख हतियार आपूर्तिकर्ताहरू मध्ये एक र सबैभन्दा ठूलो आर्थिक सहयोगी बन्यो। जर्मनी बिस्तारै युक्रेनको समर्थक, सहयोगी बन्दै गएपछि र खासगरि हतियार आपूर्ति गर्न लागेपछि रुसलेपनि जर्मनीलाई ग्याँस र तेलको आपूर्ति बन्द गरिदियो ।

रूसी ऊर्जा प्रतिबन्धको आर्थिक क्षति र युद्धको प्रभावबाट स्तब्ध भएको विश्वव्यापी अर्थतन्त्रले कोभिड-१९ महामारी सुरु भएयता पहिलो पटक जर्मनीलाई मन्दीमा पुर्‍याएको छ। कुनै बेलाका घनिष्ट मित्रनै युद्दको कूटनितिक घोषणाको अवस्थामा पुगेका छन् । यो द्वन्दले रुस-युक्रेन युद्दको शान्तिपूर्ण बाटो खोज्ने प्रयासलाई झनै नकारात्मक अवस्थामा धकेल्ने छ ।

(नेपालप्लसको साथमा ए एफपी र युरोन्युज)

तपाइँको प्रतिक्रिया