मंगलबार, वैशाख ११, २०८१

त्यसपछि ठूलो बुवा हराउनुभयो !

गोपी सापकोटा२०८० जेठ १७ गते २०:५५

कीर्तिनाथ चालिसे अर्थात् मेरो ठूला बुवा, आमाको भिनाजु, बुवाको साढु दाई । हाम्रा लागि एक अभिभावक । परिवारका लागि एक मार्गदर्शक । समाजका लागि समाजसेवी र शिक्षासेवी । देशका लागि एक राजनितिज्ञ । व्यक्ति एक, भूमिका अनेक ।

भूमिकाको कुरा गर्दा हामी गैंडाकोट आउनुमा ठूला बुवाको प्रत्यक्ष–अप्रत्यक्ष भूमिका छ । त्यो समय अर्थात् ०४० – ०४१ सालतिर मानिसहरु पहाडबाट तराई झर्ने चलन थियो, त्यो क्रम बढ्दै गइरहेको थियो । हामी पनि त्यही समयमा बाग्लुङ्गबाट गैंडाकोट झरेका थियौं ।

हामी त सानै थियौं । धेरै कुरा थाहा थिएन । जे थाहा थियो, बुवा आमालाई थाहा थियो । आमालाई आफ्नी दिदी गैंडाकोटको जौजुवामा बस्ने गरेको थाहा थियो । उहाँलाई पनि दिदीकै वरीपरी बस्न मन लाग्यो । त्यो कुरा आमाले बुवालाई भन्नुभयो । बुवाले आमाको कुरा मान्नु भयो । त्यसरी हामी गैंडाकोट झर्‍र्यौं ।

गैंडाकोट आएपछि मात्रै ठूला बुवासँग चिनजान भयो । म त्यस्तै दश एघार वर्षको थिएँ । छ कक्षामा पढ्थें । मैले पहिलो पटक ठूला बुवालाई देख्दा उहाँ फोनिक्स साइकल चलाउँदै हुनुहुन्थ्यो । मलाई त्यतिखेर साइकल चढ्ने मान्छे ठूला हुन् भन्ने लाग्थ्यो । हुन पनि त्यो समयमा गाउँमा खासै धेरै साइकल हुँदैनथे । एक दुई जनाको घरमा मात्रै साइकल हुन्थे । साइकलमा पनि फोनिक्स त्यतिखेरको राम्रो ब्राण्डको साइकल थियो, यतिखेरको बि यम डव्ल्यु, मर्सिडिज, औडी कार भनेजस्तै । जे होस् त्यतिखेर नै ठूला बुवा ठूलो मान्छे हुनुहुन्छ भन्ने लाग्थ्यो ।

मलाई उहाँको ब्यक्तित्व गज्जबको लाग्थ्यो । शरिर खाइलाग्दो थियो । अग्लो हुनुहुन्थ्यो, बोलीमा पनि कमाण्ड थियो । ती सबै कुराले उहाँको बाहिरी र भित्री दुवै ब्यक्तित्वलाई उच्च बनाएको थियो । उहाँमा स्वाभाविक नेतृत्वको गुण झल्कन्थ्यो ।

म सानो भएको बेलामा उहाँसँग धेरै कुरा हुँदैनथ्यो । उहाँले कतिमा पढ्छौ र पढाईमा कस्तो गरेका छौ भनेर सोध्नुहुन्थ्यो । म तिनै प्रश्नको उत्तर दिन्थें र भागिहाल्थें । उहाँसँग कता कता डर पनि लाग्थ्यो । अरु केटाकेटीहरु पनि उहाँको व्यक्तित्वबाट डराउँथे ।

अलि ठूलो भएपछि भने उहाँसँग व्यवहारिक, सामाजिक र राजनैतिक कुरा हुन थाले । विशेष गरी मैले पढाई र साहित्यमा राम्रो गरिरहेको छु भन्ने कुरा उहाँले थाहा पाएपछि मलाई ध्यान दिन थाल्नु भएको थियो । मैले पनि ठूला बुवाको एटेन्सन अर्न गर्न सकेकोमा गर्व महसुस गरेको थिएँ ।

ठूला बुवा, ठूली आमाले हामीलाई माया गर्नुहुन्थ्यो । हामी लगभग सबै चाडबाडमा जौजुवा जाने गर्दथ्यौं । त्यतिखेर मामाघर टाढा भएकाले सामान्यतया मामाघर गइने प्रत्येक चाडमा हामी उहाँहरुकोमा नै जाने गर्दथ्यौं ।

मैले मेरो जीवनमा महत्वपूर्ण ठानेका कामहरु गर्न लाग्दा ठूला बुवासँग सरसल्लाह गर्ने गर्थें । उहाँको सल्लाह नलिइकन कुनै काम गरेको थिएँ भने जतिसक्दो चाँडो उहाँलाई सुनाउँथे । त्यो मैले उहाँलाई गर्ने आदर र सम्मान थियो । बिशेष गरी मेरो बिवाह हुने बेलामा, मैले कालिका मा। बि।को जागिर छोडेर काठमाडौं पढ्न जान लागेको बेलामा र भाई राजुको बिहे गर्ने बेलामा ठूला वुवासँग सल्लाह गरेको थिएँ । अरु बेला उहाँसँग कुरा गर्दा सामान्यतया जीवनको लक्ष्यको बारेमा कुरा हुन्थ्यो, पढाई र क्यारियरको कुरा हुन्थ्यो ।

उहाँसँगको एउटा प्रसङ्ग जहिले पनि सम्झिरहन्छु ।

धेरै पहिलेको कुरा हो । हामी सानै भएको बेलामा लक्ष्मी मामाले हाम्रो परिवारमा कोही एकजना मेडिकल डाक्टर भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु भएको थियो । उहाँले पहिले खगराज मामा र कृष्ण दादालाई डाक्टर बन्न प्रोत्साहित गर्नुभयो, तर खगराज मामा सरकारी सेवातिर लाग्नु भयो, कृष्ण दादा अन्तरराष्ट्रिय रेडक्रस तिर लाग्नु भयो ।

त्यसपछि उहाँले मलाई र राजुलाई प्रोत्साहित गर्नु भयो । हामीले पनि मेडिकलको बाटो समातेनौं । मलाई लाग्छ, लक्ष्मी मामाले आफ्ना सबै भान्जा भान्जीहरुलाई डाक्टर बन्नुपर्छ भनेर प्रोत्साहित गर्नु भएको थियो । तर मामाका कोही पनि भान्जा भान्जीहरु डाक्टर बन्ने तरखरमा लाग्न सकेनौं ।

एकदिन मैले ठूला बुवासँग त्यही कुरा गरें । आफूले मेडिकल पढ्न नसकेको बताएँ । उहाँले भन्नुभयो, कुनै पनि कुराको विकासमा एउटा पिँढीको हात हुन्छ । हाम्रो पुस्ताले तिमीहरुलाई यत्तिको बनायौं । अब तिमीहरुको पुस्ताले आफ्ना छोरा छोरीहरुलाई आफू भन्दा राम्रो बनाउनु । एकैचोटी फड्को मार्न गाह्रो हुँदो रहेछ । अहिले यो कुरा सुन्दा सामान्य लाग्न सक्छ, तर त्यतिबेला मलाई एकदमै दार्शनिक र बौद्धिक लागेको थियो । उहाँले त्यसरी आफ्ना अनुभवहरु बाँड्नु हुन्थ्यो ।

जीवनको विभिन्न चरणमा उहाँ धार्मिक कार्यमा पनि सक्रिय रहनु भएको थियो । मौला कालिका मन्दिरको धार्मिक सेवा समितीको उहाँ संस्थापक सदस्य हुनुहुन्थ्यो । धार्मिक क्षेत्रको भ्रमणमा उहाँको रुचि थियो । त्यही क्रममा २०७० सालको जेठमा उहाँ, ठूली आमा र हरि दादा तथा गाउँको एउटा समुहसँग भारतको केदारनाथ, उत्तराखण्डको धार्मिक भ्रमणमा जानु भएको थियो । दुर्भाग्यवस, असार ३ गते उत्तराखण्डमा भएको भीषण वर्षा, बाढी र पहिरोमा परी उहाँको निधन भयो । उहाँसँगै ठूली आमा र हरिदादा पनि बित्नु भयो । साथमा सँगै यात्रा गर्नु भएका अरु छ जना तिर्थालुहरु पनि बित्नु भयो ।

ठूली आमा एकदमै सफ्ट हुनुहुन्थ्यो । हामीलाई माया गर्नु हुन्थ्यो । हाम्रो प्रगतीमा खुशी हुनुहुन्थ्यो ।

हरि दादा शुरुमा अलि कडा मिजासको लाग्थ्यो, पछि भने सामान्य लाग्न थालेको थियो । उमेरमा उहाँ म भन्दा अलिकति जेठो हुनु हुन्थ्यो । पछि बिरेन्द्र क्याम्पसमा हामीले सँगसँगै आइ।ए। पढ्यौं । क्लासमेट भयौं । हामीले पढ्ने बिषय र सेक्सन भने फरक थियो । क्याम्पसको बिदा सँगै हुन्थ्यो । त्यतिखेर लक्ष्मी मामा सिमरा बस्नु हुन्थ्यो । हरि दादा र म सँगसँगै मामाघर सिमरा जाने गर्दथ्यौं । पछि हरि दादासँग त्यति धेरै सम्पर्क भएन, म काठमाडौंमा हुँदा उहाँ बिदेश हुनु हुन्थ्यो, उहाँ काठमाडौं फर्कंदा म बिदेश हिंडिसकेको थिएँ ।

मैले जीवनमा कहिल्यै नबिर्सने हरिदाईसँगको एउटा प्रसंग छ । कुरा त्यस्तै २०४७ सालतिरको हो । हरिदाई र म मामाघर सिमरा गएका थियौं । हामीलाई बस बिसौनीमा लिन लक्ष्मी मामा आउनु भएको थियो । हरिदाईले ‘गर्मी भयो, चिसो खानु पर्यो’ भन्नुभयो । मैले ‘घरमै पुगेर पानी खाउँला’ भनें ।

‘अहिले तिर्खा लागेको बेलामा चिसो नखाएर कहाँ घर पुग्दासम्म पर्खने? म भान्जाहरुलाई पानी पनि नखुवाई हिंडाउँछु त ?’ मामाले भन्नुभयो ।

त्यसपछि हामी एउटा होटलमा पस्यौं । त्यहाँ पानी पिउने कुरा हुँदा हुँदै कोक पिउने कुरा भयो । कोक पिउने कुरा हुँदा हुँदै वियर पिउने कुरा भयो । लक्ष्मी मामाले कोक खाने हुनु भयो, हरिदादाले बियर खाने हुनु भयो । मैले ‘कोक खान्छु’ भनें । हरि दाईले ‘वियर चाख’ भन्नुभयो । मैले ‘अहिलेसम्म कहिल्यै खाएको छैन’ भनें । ‘कहिल्यै नखाएको भएर त चाख भनेको’, हरिदाईले आफ्नै पाराले भन्नु भयो । मैले मामाको मुखमा हेरें । मामाले स्वीकृतिको हाँसो हाँस्नु भयो । मैले पहिलो पटक वियर चाखें ।

अब फेरि प्रसंग ठूलो बुवाको नै ।

आफ्नो र देशको विकासका लागि हामी कृषिबाट उद्योगतिर लाग्नु पर्छ भन्ने सोच थियो, ठूलो बुवाको । त्यसैले उहाँले ट्रक किन्नु भएको थियो, राइस मिल खोल्नु भएको थियो । शिक्षाप्रति उहाँको लगाव एकदम धेरै थियो । स्थानिय विद्यालयहरुको स्थापना र तिनीहरुको व्यवस्थापनमा उहाँको योगदान थियो । गैंडाकोटको विकासका लागि उहाँ समर्पित हुनुहुन्थ्यो । ०४९ सालमा उहाँ गैंडाकोट गा।बि।स।को उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

ठूलो बुवा भौतिक रुपमा नरहनु भएपछि उहाँको सम्झना मात्रै बाँकी रह्यो । सायद त्यही सम्झनाले होला, उहाँ दुई पटक मेरो सपनामा आउनुभयो । मैले सम्झेका सपनाका ती दुई प्रसंग यहाँ लेख्ने विचार गरें ।

पहिलो प्रसंग केही वर्ष पहिलेको हो । एक रातको सपनामा उहाँ आउनु भयो र भन्नुभयो, ‘गोपी, तिमी मसँग दिल्ली जानुपर्ने भयो । कृष्ण जाने कुरा थियो । उसले नभ्याउने भयो । तिमी र विनोदी सर मसँगै हिंड ।’

मैले केही भन्न नपाउँदै उहाँ कतै हराउनु भयो ।

अर्को सपना यो ग्रन्थ प्रकाशित गर्ने कुरा भएपछिको हो । गैंडाकोटमा कुरा भएपछि म लण्डन फर्कें । एक रात सपनामा मैले ठूला बुवालाई देखें ।

म कतै मेरा साथीहरुसँग पिकनिकमा थिएँ । कता कता कहिल्यै नदेखेका मान्छेहरु साथी रहेछन् । हामीले खाना पस्कँदै थियौं । पकाएको भाँडाको सबै खानेकुरा पस्किसकेपछिको कुरा हो । सबैले खान थाले । मैले पनि खान थालें । मैले मुखमा पहिलो गास हाल्ने बित्तिकै ठूला बुवा टुप्लुक्कै आइपुग्नु भयो ।

‘ए खाना त सकियो कि क्याहो ? म पनि खान्थें नि ।’ उहाँले भन्नु भयो ।

मैले खान लागेको भाग जुठो परिसकेको थियो । एकै सेकेण्ड पहिले आउनु भएको भए पनि यही बाँडेर खान हुन्थ्यो भन्ने लाग्यो । त्यो परिस्थितिमा मलाई एकदमै असजिलो लाग्यो ।

‘ठूलो वुवा एकैछिन पर्खनुस् है, हामी पकाइहाल्छौं नि ।’ मैले भनें । तर त्यसपछि उहाँ कतै हराउनु भयो । म ब्युँझें ।

बिहान उठेपछि मलाई रातीको सपनाले नराम्रोसँग घचघचायो । नुवाई धुवाई गरें र ठूला बुवाको नाममा जल दिएँ । त्यसपछि उहाँलाई सम्झिदै लण्डनकै एउटा हिन्दु मन्दिरको खातामा केही पैसा दानको रुपमा पठाइदिएँ ।

सपनाको एउटा सुन्दर पक्ष के हो भने सपना देखुन्जेल त्यो सपनाजस्तो लाग्दैन, साँच्चै भइरहेको बिपनाजस्तो लाग्छ । ब्युँझेपछि मात्रै ‘ए त्यो त सपना पो रहेछ’ भन्ने लाग्छ ।

अन्तमा, ठूलो बुवा, ठूली आमा, हरि दादा र यात्रामा हुँदा पहिरोमा परेर उहाँहरुसँगै ज्यान गुमाउनु भएका अरु छ जना तिर्थालुहरुमा हार्दिक श्रद्धान्जलि अर्पण गर्दछु । यो ग्रन्थको कन्सेप्ट बनाउनु हुने कृष्ण दादा र यसको प्रकाशनको यात्रामा लाग्नु हुने सबैजनाको प्रयास र योगदानको हृदयदेखि नै प्रशंसा गर्दछु ।

(कीर्तिशेष कीर्तिनाथ चालिसे स्मृतिग्रन्थबाट)

तपाइँको प्रतिक्रिया