बुधबार, वैशाख १२, २०८१

शब्दहरुको बिश्व भ्रमणमा साइग्रेस

शशि ढकाल / कोपनहेगन, डेनमार्क२०८० जेठ २२ गते १७:०४

शशि ढकाल

साइग्रेस अहिले ‘वर्ड को वर्ल्ड टुर’ मा छन् । अर्थात यसलाई शब्दहरुको बिश्व भ्रमण भन्दा फरक नपर्ला । के भन्छन त साइग्रेस यसलाई ? के यो शब्दहरुको बिश्व भ्रमणनै हो ?

‘हो यो शब्दहरुको बिश्व भ्रमणनै हो । दुइ वर्ष अघि गरिएको देशब्यापी वर्डटुरको यो बिस्तृत स्वरूप हो ।’

विभिन्न देशका विभिन्न सहरमा पुगेर स्रोता / दर्शकसँग साक्षात्कार गर्ने उनी ‘वर्डको वर्ल्ड टुर’ का लागि डेनमार्कमा यही जुन महिनाको १० मा आउने भएका छन् । मैले दुइ वर्ष अघि गरेको वर्ड टुरबारे धेरै शब्दहरुनै बंग्याइए । मैले चुप चाप हेरी रहें, सुनिरहें र लेखें। अनि तिनीहरुको एकमुस्ट जवाफमा भने ‘बाफ बनेर उडेर बनेका सपनाहरु धैर्यताका बादल बनेर बर्सने छन्, सहँदा गिज्याएका हाँसोहरु प्रगति देखेर तर्सने छन् ’।

गत वर्षको अगष्टमा अष्ट्रेलियाका विभिन्न सहरहरुमा एक महिनासम्म कार्यक्रम गरेर ‘वर्ड टुर’ मार्फत ‘वर्ल्ड टुरमा’ निस्केका साइग्रेस स्विडेन, स्पेन, बेल्जियम, पोर्चुगल, माल्टा, पोल्याण्ड, जापानलगायतका देशहरुको कार्यक्रम पछी बेलायत, डेनमार्क, साइप्रस, फ्रान्स लगायतका मुलुकमा कार्यक्रम गर्ने छन् ।

‘स्वदेश वा विदेशमा सांगीतिक कार्यक्रमहरु हुन्छन् । नाटक मन्चन हुन्छन्। प्रहसन भएका छन्, सिनेमा प्रदर्शनमा छ । अनेक रोड शोहरु भएका छन् । कविताको यात्रा समेत सुरु भईसकेको छ । तर कथाको बाचन, यो नौलो यात्रा हो जस्तो लाग्छ । होइन र ?’ उनले प्रश्न नै गरे अनि एकछिन अडिएर भने, ‘शायद यो चाहिं पहिलो हुनसक्छ । यसको आफू पायोनियर हुन पाएकोमा धेरै खुशी लागेको छ । कथा बाचनको पनि व्यवशायीकरण सुरु भएको छ र अरु युवाहरु जो यो क्षेत्रमा आउन चाहन्छन्, उहाँहरुको लागि प्रेरणा हो’ उनले बताए ।

के छ त डेनमार्कसँग साइनो साइग्रेसको ? सन् २०१५ मा डेनमार्कमा ‘स्ट्राटेजिक म्यानेजमेन्ट’ पढ्न आएका उनले यहाँ अरु बिद्यार्थीले झैं गर्नुपर्ने सघर्ष सबै गरे । यहाँ उनका धेरै पुराना बिद्यार्थी जीवनका साथीहरु पनि छन् । त्यसैले उनी भन्छन, ‘डेनमार्कसँग मेरो अलग्गै आत्मियता छ र डेनमार्कमा मेरो प्रस्तुति अझ विशेष रहने छ ।’

खासमा युट्युब, भिडियो अपलोड गर्ने माध्यम र भिडियो हेर्ने उपयुक्त प्लेटफार्म हो । तर साइग्रेसले यसलाई अडियोको माध्यमको रुपमा प्रयोग गरे जहाँबाट उनले आफ्नो जादुमयी आवाजले कथा सुनाउँदै श्रोतालाइ मन्त्रमुग्ध बनाए । साइग्रेसले सुरूदेखि नै सामाजिक मूल्य-मान्यताका कथाहरू भन्न र लेख्न थाले । उनका कथामा उनी मानवीय मूल्य-मान्यतालाई जोड्दै श्रोता / दर्शकका कथा बाचन गरेपछि अन्त्यमा त्यसको चुरो अर्थात कथाले भन्न खोजेको कुरा भन्दै आफ्नो राय सुझाब समेत दिने गर्द्छन ।

‘कथामा एउटा शिक्षा हुन्छ त्यसकै कारण पनि मनपराइदिनु भएको जस्तो लाग्छ,’ उनले भने ।

श्रोता / दर्शकहरुका कथा संकलनका लागि उनले छुट्टै इमेलको व्यवथा गरेका छन् भने उनीसँग अहिले करिब १० हजारको हाराहारीमा कथा छन् । छनोट कसरी गर्छन त उनी यी कथाहरुको ?

कथा रोज्न एकदम गाह्रो हुने तर सत्यसँग नजिक रहेको कथा बाचन गर्न आफुले प्राथमिकता दिने उनले बताए ।

उनले बाचन गरेर युट्युवमा राखेको पहिलो अडियो उपन्यास ‘अधुरो प्रेम’ लाइ लाखौं श्रोता दर्शक र जनमानसबाट सुनिएको / हेरिएको छ। उक्त उपन्यासलाई उनले किताबको रुपमा प्रकासित समेत गरेका छन् । आफ्नो र अनन्याको अधुरो प्रेमको कथा एक घण्टा ४६ मिनेट लामो ‘मेरो अधुरो प्रेम’ को अडियो नै साइग्रेसको स्टोरी टेलिङ (कथा वाचन) को टर्निङ पोइन्ट हो । त्यसपछिनै हो उनले कथा बाचनलाइ पनि वयवसायिक बनाउन सकिन्छ भनेर लागेको ।

साइग्रेसले आवाजको माध्यमबाट लाखौँ श्रोता / दर्शकको मन जितेका छन्। उनले भनेका कथामा श्रोता / दर्शकहरु अपनत्व महसुश गर्छन । प्राय युवाहरुका कथा भन्ने उनी कतै सम्बन्धका कथा भनिरहेका हुन्छन भने कतै विभेद र छुवाछुतका कथामा सामाजिक न्यायको वकालत गरिरहेका हुन्छन। विदेशिएका युवाहरुको आवाज बोल्ने प्रतिनिधि कथाहरु, लामो समयपछिको संघर्ष र धैर्यताले सफलता पाएका कथाहरु, सफलता र असफलताले भरिएका दुवै कथाहरू उनको वर्ल्ड टुरका सुनाउने कथाको रोजाइ हो ।

आवाजमा जादु भर्न सक्ने स्टोरी टेलर अर्थात् कथा बाचक साइग्रेस पोखरेल ‘सिन्दुरबिनाकी दुलही’मा एक सडक बालिकाको संघर्षको कथा भन्छन भने नौलो सुरुवातमा भविष्यमा आफ्नो रुचिलाइ कामको रुपमा कसरी सुरुवात गर्ने भनेर सुझाउँछन् । अधुरो प्रेममा युवायुवतीको प्रेम कथा भन्छन र जीवनको अन्त्य चाँडै गर्नु हुँदैन भन्ने सन्देश प्रवाह गर्छन भने ५० वर्षे केटोमा डेनमार्कबाट नेपाल आएको अर्धवैंशेको २४ वर्षे कलेज पढ्ने युवतीसँगको एक्स्ट्रा म्यारिटियल अफेयरको कथा भन्दै आपनो पारिवारिक जीवन समाप्त नपार्न सुझाव दिन्छन ।

त्यसो त उनले अनुशासनको कार्वाही कथा शिर्षक बाचन गरेर यस कथा मार्फत बिदेशमा गरिने नेपाली विकृत राजनितीको मुखौटो उघारेका छन्, जसलाई आफ्नो अनुभवले पनि कथा सत्य भएको भन्न रुचाउँछन ।

हालै मात्र उनले मान्नुस नमान्नुस सात वर्ष जेल परेपछि निर्दोष ठहरिएका सन्तकुमार चौधरीका कथा भनेर स्रोता दर्शकसँग कमेन्ट मागेका छन् यसलाई तपाई कुन रुपमा हेर्नु हुन्छ भनेर ?

समाजमा घटेका तत्कालका घटना र सामाजिक विषयवस्तुमा आधारित कथाहरु सुनाउने उनको कलाले आवाजको माध्यमबाट दुनियाँलाइ लठ्ठ पारेको छ ।

कृयटिभ नेप्लिज ओमेन डेनमार्क तथा नेपाली साहित्यिक समाज डेनमार्कको संयुक्त आयोजनामा जुन १० का दिन डेनमार्कको राजधानी कोपनहेगनमा हुनलागेको साइग्रेस पोखरेलको शब्दहरुको बिश्व भ्रमण अर्थात् ‘वर्डको वर्ल्ड टुर’ मा चर्चित, उर्जाशील र प्रेरक वक्ता पोखरेलले डेनमार्कमा युवाहरुको रुचिअनुसारका कथाहरु पस्कने छन् । साथै वर्तमान समयमा डेनमार्कको नेपाली समुदायमा बिभिन्न प्रकारका भौतिक तथा मानशिक समस्याहरु दिनहुँ वृद्धि हुँदै गइरहेको सन्दर्भमा यिनै कुरालाई मध्यनजर गर्दै व्यक्ति, समुह र समुदायमा सकारात्मक उर्जा भर्न र असल सन्देश प्रवाह गर्ने प्रकारको कार्यक्रम रहने कुरा आयोजक क्रियटिभ नेप्लिज विमेनकी अध्यक्ष सरु पाण्डेले बताएकी छिन् ।

संयुक्त आयोजक मध्ये अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरका अध्यक्ष सरु ज्ञवालीले कार्यक्रमको खाका बताउँदै कार्यक्रम दुइ चरणमा हुने बताएकी छिन् ।

अनेसासकि अध्यक्ष सरु ज्ञवालीका अनुसार साइग्रेस पोखरेलको डेनमार्कको कार्यक्रममा पहिलो चरणमा डेनमार्कमा रहनुभएका सर्जकहरुले आफ्नो सिर्जना वाचन (गजल, मुक्तक, कविता) गर्नु हुनेछ । जसको लागि प्राप्त रचनाहरु सम्पादन गर्ने कार्य भैरहेको उनले बताइन । त्यसका साथै साइग्रेसले दर्शकसँग प्रतक्ष कुराकानी गर्ने र दर्शकहरुको मनमा रहेका प्रश्नको जवाफ दिने छन् । आयोजकहरुका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको छ ।

तपाइँको प्रतिक्रिया