शनिबार, वैशाख १५, २०८१

विकिलिक्सका जुलियन असान्जको अपील बेलायती उच्च अदालतद्वारा अस्विकार, सुपुर्दगीको खतरा

नेपालप्लस संवाददाता / फ्रान्स२०८० जेठ २५ गते २०:२५

WikiLeaks founder Julian Assange (File Photo | AFP) via .newindianexpress.com

बेलायतको उच्च अदालतले विकिलिक्सका प्रकाशक जुलियन असान्जको सुपुर्दगी आदेशको विरुद्धमा गरेको अपीललाई अस्वीकार गर्ने निर्णय गरेपछि उनलाई अमेरिका सुपुर्दगी गरिने त्रास स्रिजना भएको छ ।

विश्वमा प्रेस स्वतन्त्रताका पक्षमा लडिरहेको पेरिसस्थित रिपोर्टर्स विद आउट बोर्डर्स (आरएसएफ) ले उनी सुपुर्दगीको निकट पुगेको भन्दै गहिरो चिन्ता ब्यक्त गरेको छ ।

बेलायती उच्च अदालतले उनको अपील अस्विकार गरेपछि उनलाई खतरनाक रूपमा संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्न निकट पुर्‍याएको आरएसएफले विहिवार प्रेस बिज्ञप्ती जारी गर्दै उल्लेख गरेको हो । यदि उनलाई अमेरिका सुपुर्दगी गरिएमा उनले आफ्नो बाँकी जीवन जेलमा भोग्न सक्ने उल्लेख गरेको छ ।

उनले २०१० मा बिभिन्न गोप्य दस्ताबेजहरु एकपछि अर्को प्रकाशित गरेपछि चर्चामा आएका थिए । त्यस लगत्तै देखि अमेरिकी सरकारले उनलाई सुपुर्दगीको माग गर्दै आएको थियो ।

आरएसएफको बिज्ञप्तीका अनुसार जुन ६ मा जारी गरिएको तीन पृष्ठको लिखित निर्णयमा एकल न्यायाधीश जस्टिस स्विफ्टले सन् २०२२ को जुनमा तत्कालीन बेलायती गृहमन्त्री प्रीति पटेलले हस्ताक्षर गरेको सुपुर्दगी आदेशको विरुद्धमा असान्जको अपीलका सबै आठ आधारहरू खारेज गरे।

बेलायतमा अब दुई न्यायधिशहरुको प्यानलमा पुग्नेगरि २० पृष्ठको अपिल संलग्नगरि बुझाउन सकिने छ र त्यसको लागि पाँच दिन बाँकि छ । त्यसलाई दुई न्यायधिशले सार्वजनिक सुनुवाईमा लग्ने छन् । तर थप अपीलहरु घरेलुस्तरमा संभव हुने छैन ।

एउटा झिनो आशा के बाँकी छ भने असान्जले मानव अधिकारको युरोपेली अदालतमा अपिल दर्ता गर्न सक्ने छन्।

संवन्धित : विकिलिक्सका संस्थापक जूलियन असान्जेको नागरिकता रद्द

“एक जना न्यायधिशले तीन पृष्ठको निर्णय जारी गर्न सक्नु वाहियत हो । किनकी त्यसले जूलियन असान्जलाई उनको बाँकी जीवन जेलमा राख्न सक्छ र स्थायी रूपमा विश्वभरको पत्रकारिताको वातावरणलाई असर गर्न सक्छ। त्यसपछि के हुन्छ भन्ने गम्भिर अवस्थाको आँकलन गर्न कठिन हुने छ । असान्ज बिरुद्दको यो हरकत रोक्न र पत्रकारिता र प्रेस स्वतन्त्रताको रक्षा गर्नको सट्टा त्यसका बिरुद्दको कार्य हो यो” आरएसएफकी अभियान निर्देशक रेबेका भिन्सेन्टले भनेकि छन् ।

उनले राष्ट्रपति बाईडेनलाई प्रेस स्वतन्त्रताका पक्षधरहरुको आव्हान पहिले भन्दा अहिले धेरै जरुरी भएकोसमेत उल्लेख गरेकि छन् । अमेरिकी राष्ट्रपती जो बाईडेनलाई यी आरोपहरू हटाउन, असान्ज विरुद्धको मुद्दा बन्द गर्न, र थप ढिलाइ नगरी उनको रिहाइको लागि अनुमति दिन आव्हान गर्दै उनको सुपुर्दगी बिरुद्द आवाज उठाउन समेत आव्हान गरेकि छन् ।

जुलियन असान्जकी श्रीमती स्टेला असान्जले ट्वीटरमा उल्लेख गरेकि छन् ‘अर्को हप्ता मङ्गलबार मेरा पति जुलियन असान्जले उच्च अदालतमा पुनरावेदनका लागि नयाँ निवेदन दिनेछन्। त्यसपछि यो मुद्दा उच्च अदालतमा दुई नयाँ न्यायाधीशहरूसामु सार्वजनिक सुनुवाइको लागि अगाडि बढ्नेछ । हामी आशावादी छौं कि हामी विजयी हुनेछौं र जुलियनलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिने छैन जहाँ उनले आरोपको सामना गर्नुपर्नेछ जसले गर्दा अमेरिकी सरकारले गरेको युद्ध अपराधको खुलासा गर्ने सत्यतथ्य जानकारी प्रकाशित गरेबापत अधिकतम सुरक्षासहित उनले आफ्नो बाँकी जिवन जेलमा बिताउनुपर्ने छैन ।

जुलियन असान्जकी पत्नीक्ले ट्विटरमा लेखेको सामाग्री

बेलायती अदालतहरूमा तीन वर्षभन्दा बढीको कानुनी कारवाहीका क्रममा यो पछिल्लो चरणमा भएको निर्णय हो । अमेरिकी सरकारले असान्जलाई विकिलिक्सले हजारौं सार्वजनिक गरिएका गोप्य कागजातहरूको प्रकाशनको सम्बन्धमा १८ वटा आरोपमा मुद्दा चलाउनको लागि सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ ।

विकिलिक्सले गोप्य रिपोर्टहरु सार्वजनिक गरिदिएपछि त्यसले विश्वभरि सार्वजनिक चासो बढाइदिएको थियो । अमेरिकी सरकारलाई निकै आलोचित गरिदिएको थियो ।

पहिलो चरणमा अदालतले मानसिक स्वास्थ्यको आधारलाई मानेर सुपुर्दगीको विरुद्धमा फैसला गरे पनि अमेरिकी सरकारले प्रस्तुत गरेको कूटनीतिक आश्वासनलाई ध्यानमा राख्दै पुनरावेदन अदालतले उक्त निर्णयलाई उल्टाइदियो। असान्ज जासुसी ऐन अन्तर्गत मुद्दा चलाइएको पहिलो प्रकाशक हुनेछन्, जसमा सार्वजनिक हित संरक्षणको अभाव छ । उनले सबै आरोप बापतको जेल समय जोड्दा (अमेरिकी माग अनुसार) सम्भावित १७५ वर्षको जेल सजायको संभावना र त्रास भोगिरहेका छन् ।

आरएसएफले असान्जलाई भेटघाट र उनको स्थिति निगरानी जारी राखेकोको थियो । तर बेलायती सरकारले व्यापक अवरोध गरेको थियो । तैपनि तिनका बिरुद्द लड्दै सम्पूर्ण सुपुर्दगी प्रक्रियाको अनुगमन गर्दै आएको छ ।

सन् २०२३ को अप्रिलमा आरएसएफका महासचिव क्रिस्टोफ डेलोइर र अभियान निर्देशक रेबेका भिन्सेन्टलाई बेलमार्श जेलमा असान्जलाई भेट्नको लागि स्वेच्छाचारी प्रतिबन्ध लगाइएको थियो । त्यहाँ असान्ज चार वर्ष भन्दा लामो समयकालागि राखिएको थियो। आरएसएफले उनलाई जेलमा भेट्न र असान्जको रिहाइको लागि विश्वव्यापी अभियान जारी राखेको छ ।

तपाइँको प्रतिक्रिया